काठमाडौं । रसुवा क्षेत्रभन्दा माथि गएको हिमपहिरोपछि रसुवा, भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिपछि उद्धार तथा राहतका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
गुम्बाका मूलगुरु खेन् रिन्पोछे शीर लामा गुरुको अगुवाइमा गुम्बासँग आबद्ध दाताहरू, गुम्बा परिवार र स्वयं मूलगुरुसमेतको योगदानबाट संकलित ११ लाख रुपैयाँको चेक बुधबार १४ असोज २०८३ मा गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरणका क्रममा कास्कीकी माननीय बिना गुरुङसमेत उपस्थित थिइन् ।
भदौ १०, २०८३ मा रसुवा क्षेत्रभन्दा माथि हिमपहिरो गएपछि रसुवा, भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । विपद्का कारण सयौँ व्यक्तिको मृत्यु, हजारौँ बेपत्ता हुनुका साथै बस्ती, घरटहरा, पुल तथा खेतीयोग्य जमिनमा समेत व्यापक क्षति पुगेको उल्लेख गरिएको छ ।
विपद्को समयमा देशभित्र तथा विदेशमा रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सहयोग गर्दै आएको भन्दै बुद्धिस्ट गुम्बा रेडिङ यूकेले पनि मानवीय सहयोगका रूपमा उक्त रकम प्रदान गरेको बुद्धिस्ट गुम्बा रेडींग यूकेका महासचिव कमल गुरुङले बताए ।
गुम्बाले सहयोगमा सहभागी सम्पूर्ण दाता, गुम्बा परिवार तथा मूलगुरु खेन् रिन्पोछे शीर लामा गुरुमा धन्यवाद व्यक्त गरेको छ ।