लन्डन । बेलायत को रेडिङमा बर्सेनि आयोजना हुँदै आएको रेडिङ कपको १९औँ संस्करण १० अक्टोबरमा हुने भएको छ ।
रेडिङको पाल्मर पार्कमा तय कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने छन् ।
आयोजक ग्रेटर रेडिङ नेपाली कम्युनिटीले आइतबार बिहान एक पत्रकार सम्मेलन गरी १९ औँ रेडिङकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । आयोजकले रेडिङ र आसपासका साथै बेलायतभरका नेपालीलाई कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् ।
पत्रकार सम्मेलनमा रेडिङकप संयोजक मीनकुमार गुरुङले यसपटक युवा, भेटेरान र सुपर भेट्रान गरी तीन विधामा फुटबल प्रतिस्पर्धा गराइने बताए । त्यस्तै, भलिबलतर्फ भेट्रान विधामा प्रतियोगिता सञ्चालन गरिनेछ ।
संयोजक गुरुङका अनुसार फुटबलतर्फ युवा विधामा विजेतालाई २ हजार २६ पाउन्ड र उपविजेतालाई १ हजार २६ पाउन्ड नगदहित ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यस्तै, भेट्रानमा विजेतालाई १ हजार २६ र उपविजेतालाई ५ सय २६ पाउन्ड तथा सुपर भेट्रानमा विजेतालाई ५ सय २६ पाउन्ड र ३ सय २६ पाउन्ड नगद र ट्रफी, मेडलसहितको पुरस्कार रहनेछ ।
भलिबल प्रतियोगिताका विजेतालाई १ हजार २६ पाउन्ड र उपविजेतालाई ६ सय २६ पाउन्ड नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूलाई आउँदो अक्टोबर ६ तारिख सोमबारभित्र नाम दर्ता गर्न आव्हान गरिएको छ ।
प्रतियोगितास्थलमा विभिन्न नेपाली खाना र सामग्रीसहित व्यापार, सेवाका स्टलहरु र निःशुल्क हेल्थ क्याम्प स्टल राखिनेछन् । कार्यक्रममा मौलिक नौमती बाजाको विशेष प्रस्तुतिसहितका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि रहनेछन् ।
पत्रकार सम्मेलनमा कम्युनिटीका पूर्व अध्यक्ष महेश गुरुङले सन् २००६ मा आफ्नै संयोजनमा रेडिङकप शुरु गर्दाको सन्दर्भ सम्झिँदै सुरुआती यात्राबारे जानकारी गराए ।
कम्युनिटीका अध्यक्ष भीमसेन खड्काले रेडिङकप फुटबल र भलिबलको खेल महोत्सव मात्र नभइ स्थानीय नेपाली समुदायभित्रको एकता र सद्भावलाई बलियो बनाउने अवसर रहेको बताए ।
यसपटक दशैंको केही दिनअघि मात्रै आयोजना हुने कार्यक्रमलाई उत्सवका रूपमा उल्लासमय ढंगले मनाउने योजना रहेको उनले जनाए । कार्यक्रममा सहभागी भइदिन उनले बेलायतवासी समस्त नेपाली र सिंगो समुदायलाई आग्रह गरे ।
१९ औँ रेडिङकपका आर्थिक संयोजक एवं संस्थाका उपाध्यक्ष बालकृष्ण दाहालले कार्यक्रमका आर्थिक पक्ष तथा कोष संकलन अभियानसम्बन्धी जानकारी गराए ।
पत्रकार सम्मेलन सञ्चालन गर्दै कम्युनिटीका सचिव सुवास चौलागाईंले फुटबल र भलिबलका साथै विभिन्न नेपाली खाना, सामग्री र सेवाका स्टल, हेल्थ क्याम्प तथा मनोरञ्जनात्मक प्रस्तुति समेत रहने कार्यक्रममा सहभागी भई ‘फेमिली डे आउट’ का रूपमा मनाउन आव्हान गरे ।
सल्लाहकार सुरेश थापाले आफू अपरेसन म्यानेजर रहेको ‘असम बुक’ बाट कार्यक्रमका लागि ४ हजार पाउन्डको मुख्य प्रायोजन सम्झौता गरिएको जनाउँदै आउँदा वर्षहरूमा यसलाई बढाउँदै लगिने बताए । भलिबल प्रतियोगिता संयोजक प्रकाश सापकोटाले यसपटक सहभागी हुने टिम र खेल सञ्चालनबारे जानकारी दिए ।
पत्रकार सम्मेलनमा समाजका पूर्वअध्यक्ष, सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो ।