पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको अध्यक्षमा सुबेदार मेजर श्रीप्रसाद गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
तमु धिं नेपालको असोज ९ गते सम्पन्न ४२ औँ वार्षिक साधारणसभा तथा १७ औँ महाधिवेशनले मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई हाल पोखरा–१३ निवासी गुरुङलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि एकल उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत नेतृत्व चयन भएको संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार एवम् निर्वाचन मण्डलका संयोजक शंकर गुरुङले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङ निर्वाचित भएका छन् । सदस्यहरु पछी चयन गरिने बताइएको छ ।
महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य बिना गुरुङले आगामी निर्वाचनमा गुरुङ समुदायको सक्रिय सहभागिता र अग्रसरता आवश्यक रहेको बताईन् । उनले भोटेकोशी बाढीपीडितका लागि तमु धिं नेपालको अगुवाइमा उल्लेख्य राहत रकम संकलन तथा सहयोग गरिएकोमा प्रशंसा गरिन् ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङले कार्यसमिति बीचको राम्रो सम्बन्ध, समन्वय र सहकार्यले मात्रै संस्था सफलतापूर्वक अघि बढ्न सक्ने बताईन् । उनले क्षेत्रीय समाजहरूको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले तमु धिंसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउँदै सामाजिक, भौतिक तथा सांगठनिक संरचना निर्माणमा संस्था थप सक्रिय हुनुपर्नेमा जोड दिए ।
बौद्ध अर्घौँ सदनका अध्यक्ष रुद्रबहादुर गुरुङले संस्था स्थापना गर्नसमेत कठिन रहेको तत्कालीन समयमा कर्म गुरुङले तमु धिं स्थापना गरी वर्तमान अवस्थासम्म ल्याउनु महत्वपूर्ण योगदान भएको बताए । संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार शंकर गुरुङले तमुहरूबीच एकता कायम गर्दै सामाजिक तथा धार्मिक संघसंस्थामा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ दलबहादुर गुरुङ तथा पोखरामा सम्पन्न राष्ट्रिय हप्किडो च्याम्पियनसिपमा प्रथम स्थान हासिल गर्नुभएकी मेग्मा गुरुङलाई सम्मान गरिएको थियो।
तमु धिं नेपालका संरक्षक सदस्य समेत रहेका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङले पोखराको शैक्षिक विकासमा स्वर्गीय मेजर वीरसिंह गुरुङको योगदान स्मरण गर्दै तमु धिं नेपालको विकासमा संस्थापक अध्यक्ष कर्म गुरुङ र हुम बहादुर गुरुङको महत्वपूर्ण भूमिका रहेको बताए । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध हुने सेवा–सुविधामा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीलाई सफलताका लागि निरन्तर मेहनत गर्न पनि उहाँले सुझाव दिए ।
विभिन्न जातीय संस्थाका तर्फबाट नेवा: खला कास्कीका अध्यक्ष अशोक पालिखेले तमु धिंका गतिविधि प्रशंसनीय रहेको बताउदै जातीय संस्थाहरूले आ–आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणमा निरन्तर काम गर्नुपर्ने धारणा राखे ।
यसैगरी, तमु धिं नेपालका निवर्तमान अध्यक्ष हुमबहादुर गुरुङले नयाँ कार्यसमितिले युवा, विद्यार्थी र महिलालाई समेट्दै बाँकी कार्ययोजना पूरा गर्न तथा तमु एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
महाधिवेशनमा महासचिव जुना गुरुङले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गमबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा इन्द्रबहादुर गुरुङले संरक्षक सदस्य तथा हर्कबहादुर गुरुङ, काजीमान गुरुङ, सुदर्शन गुरुङ, टेकबहादुर गुरुङ, आशिष गुरुङ, दिनेश गुरुङ र हितकाजी गुरुङले आजीवन सदस्यता लिनुभएको थियो। साथै तमु धिंले आयोजना गरेको बाढी पीडित राहत संकलन अभियानमा सहयोग गर्ने व्यक्ति र संघ संस्थालाई कदर- पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य तथा महासचिव जुना गुरुङले सञ्चालन गरेका थिए ।