पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरामा अवतरण गरेको हो ।
पोखरा अवतरण गरेको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । ‘फ्लाई दुबईको यो नियमित सेवाले पोखरामा नयाँ आशा जगाएको छ,’ निरौलाले भने, ‘यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन सकेका थिएनन् ।’
फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे १ सय ५३ यात्रु लिएर दुबईतर्फ उड्ने तालिका रहेको निरौलाले जानकारी दिए । उनका अनुसार उडान तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरामा अवतरण हुनेछ । त्यसपछि साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि जहाज उड्नेछ ।
‘पोखराबाट दुबई हुँदै युरोप, अमेरिकालगायतका विभिन्न मुलुक जाने यात्रुलाई अब ठूलो सहजता थपिनेछ,’ महाप्रबन्धक निरौलाले भने, ‘यात्राअवधि छोटिँदा यात्रुको खर्च पनि घट्छ ।’ पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक सीधा आउन सक्नेछन् । यस्तै रोजगारी, अध्ययन र घुमफिरका लागि वैदेशिक यात्रामा जाने नागरिकका लागि पनि यो सेवा निकै लाभदायी हुने देखिएको छ ।
पोखरा विमानस्थलमा ओर्लिएका यात्रुलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।