काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीहरू मातृभूमिको विकासका लागि महत्त्वपूर्ण योगदान गर्दै आएको बताएका छन् ।
मंगलबार तमु धीं यूकेको टोलीसँगको भेटमा लामिछानेले विदेशमा रहेका नेपालीहरू आफूहरूको भरोसा रहेको उल्लेख गर्दै उनीहरूले देशको विकास र समृद्धिमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
‘तपाईंहरू जस्ता साथीहरू देशभन्दा बाहिर रहेर पनि देशलाई दुःख पर्दा सधैँ साथमा रहनुभएको छ । तपाईंहरू भरोसा पनि हो हाम्रा लागि धेरै हिसाबले । नेपालको राजनीतिक क्षेत्रको मात्र होइन कि कला साहित्य संस्कृति सबै क्षेत्रका मान्छेको भरोसा हो विदेशमा बस्ने नेपालीहरू,’ उनले भने ।
भेटका क्रममा लामिछानेले तमु धीं यूके र संस्थाले गर्दै आएका विभिन्न गतिविधिबारे आफू जानकार रहेको पनि बताए । उनले विदेशमा रहेर पनि नेपाली समुदाय, संस्कृति र मातृभूमिको हितमा तमु धीं यूकेले पुर्याउँदै आएको योगदान महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीबाट ज्ञापनपत्र बुझेपछि उनले भने, ‘तमु धीं यूकेको बारेमा मलाई थाहा छ किनभने म यूके गएको बेला पनि तपाईंहरूसँग भेटघाट भइरहन्छ । तपाईंहरू हाम्रा शुभचिन्तक हुनुहुन्छ । हाम्रो शुभचिन्तक पनि तपाईंहरूसँगै हुनुहुन्छ । तपाईंहरूले दिनुभएको योगदानका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिप्रति अभूतपूर्व माया, सद्भाव र अपनत्व कायम राखेको उनको भनाइ थियो । ‘यूकेमा बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि पनि निकै ठूलो योगदान छ,’ उनले भने, ‘तमु धीं यूकेलाई म यो सम्पूर्ण योगदानका लागि र अहिले यो जुन बाढीपीडितलाई सहयोग गर्नुभएको छ । जसका लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धेरै धेरै धन्यवाद दिन्छु ।’
विदेशमा रहेका नेपालीको मुद्दाबारे आफू जानकार रहेको उनको भनाइ थियो । ‘तपाईंहरूका मुद्दाहरू पनि छन् । ती हाम्रा साझा मुद्दा । त्यसमा हामीले काम गर्नुपर्ने छ । त्यसका लागि अहिले राजदूत पनि छनोट हुनुभएको छ,’ उनले भने, ‘उहाँले पनि त्यो टीओआर लिएर जानुहुनेछ ।’
सरकारले आफ्नो वाचापत्रमा पनि उक्त मुद्दाको सम्बोधन गर्ने विषय समेटेको रविले स्मरण गरे । भने, ‘त्यो यहाँहरूले थाहा पाउनुभएको होला । हाम्रो पार्टीले पनि भनेको छ । मलाई विश्वास छ हामी चाँडै नै तपाईंहरूको माग मुद्दामा पनि सकारात्मक हुँदै अघि जानेछौँ । देशलाई निरन्तर दिनुभएको मायाको लागि फेरी पनि यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।’
टोलीमा तमु धीं यूकेका अध्यक्ष गुरुङसहित आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, प्रेम गुरुङ, विजय गुरुङलगायत सहभागी थिए ।
त्यसअघि महासचिव डा. गुरुङले सभापति रविलाई संस्थाको बारेमा संक्षेपमा जानकारी गराएका थिए । उनले संस्थाले यूकेमा हरेक वर्ष गर्ने नेपाली मेला, गोर्खा कप जस्ता कार्यक्रममा नेपालको मन्त्रीस्तरीय सहभागिताका लागि पनि अनुरोध गरेका थिए ।
अन्तयमा अध्यक्ष गुरुङले व्यस्तताका बाबजुद आफूहरूलाई भेट र कुरा राख्ने अवसर दिएकोमा सभापति रविलाई धन्यवाद दिए ।