पोखरा । गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त आज कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा सम्पन्न भएको छ ।
अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीका विषयमा पनि आज सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ (श्याम), निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो ।
निर्माण टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकनस्थल, स्थानीय सहभागिता र निर्माण व्यवस्थापनका विषयमा छलफल गरेको हो ।
वडाध्यक्ष देवीजंग गुरुङले चलचित्रको शुभमुहूर्त तथा छायांकन व्यवस्थापनका विषयमा निर्माता, निर्देशकसहितको टोलीसँग छलफल गरिएको बताए ।
गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘बुकीफूल’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सिक्लेस र आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा स्थानीय जीवनशैलीलाई समेटिने जनाइएको छ ।
‘बुकीफूल’मार्फत गुरुङ समुदायको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा निर्माण पक्षले गरेको छ।









