पोखरा । गुरुङ फिल्मकर्मीहरूको छाता संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को नयाँ अध्यक्षमा अर्जुन गुरुङ चयन भएका छन्।
पोखरामा शुक्रबार सम्पन्न संस्थाको १८औं साधारणसभा तथा नवौं राष्ट्रिय अधिवेशनले गुरुङको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। निर्वाचन मण्डलका अनुसार अधिकांश पदमा सहमति जुटे पनि प्रथम उपाध्यक्षका लागि भने निर्वाचन भएको थियो।
कार्यसमितिको द्वितीय उपाध्यक्षमा टेकबहादुर गुरुङ, महिला उपाध्यक्षमा सपना गुरुङ, महासचिवमा गलबहादुर गुरुङ र कोषाध्यक्षमा इन्द्रमाया गुरुङ चुनिएका छन्। त्यसैगरी, दुई सचिवको जिम्मेवारी गंगाबहादुर गुरुङ र रामप्रसाद गुरुङलाई सुम्पिएको निर्वाचन मण्डलकी संयोजक जुनाकुमारी गुरुङले बताईन् ।
२५ सदस्यीय नयाँ कार्यसमितिको विभिन्न विभागहरूमा समेत जिम्मेवारी बाँडफाँट गरिएको छ। जसमा भीमसेन गुरुङले प्राविधिक, अनुता गुरुङले महिला, तारा गुरुङले आर्थिक र नवीनकुमार गुरुङले गीत–संगीत विभागको प्रमुखको भूमिका पाएका छन्। यस्तै, भाषा–संस्कृति विभाग प्रमुखमा टार्जन गुरुङ र प्रचार–प्रसार विभाग प्रमुखमा रक्षा गुरुङ चुनिए। निर्माता–निर्देशक, संघ–संस्था र बजार विभागका प्रमुखहरू भने कार्यसमिति सदस्यहरूमध्येबाट पछि मनोनयन गरिने निर्वाचन मण्डलले जानकारी दिएको छ ।
संस्थाको सदस्यहरूमा निकोलस गुरुङ, सन्देश गुरुङ, गणेशमान घले, कविता गुरुङ, धनमाया गुरुङ, अन्जु गुरुङ, सुस्मी गुरुङ, मनोज गुरुङ, सुजित गुरुङ, प्रतिमा गुरुङ र कृष्टी गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले आगामी तीन वर्षसम्म गुरुङ चलचित्र क्षेत्रको उत्थान र संस्थाको गरिमा बढाउन कार्य गर्नेछ।