पोखरा । रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २४औँ वार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ ।
संस्थाका संस्थापक सदस्य एवं सल्लाहकार डमर तमुको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवश्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू तम्तयार रहेको बताए ।
तमु धीं नेपालका अध्यक्ष हुम तमु, संस्थाका अक्षयकोष दाता एवं संस्थापक उपाध्यक्ष दुर्गा तमु, संस्थापक अध्यक्ष खेमबहादुर तमु, आजीवन सदस्य एवम् साहित्यकार गौरी तमु, संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमुले मन्तव्य राखेका थिए ।
सभामा वर्षभरिका संस्थाको गतिविधि समेटिएको प्रगति प्रतिवेदन सचिव कञ्चन तमुद्वारा तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तमुद्वारा प्रस्तुत गरी अनुमोदन गरियो । कार्यक्रममा यू.के. धीं आमा समितिद्वारा २ लाख ५० हजार रुपैयाँ अक्षयकोष रकम प्रदान गर्ने घोषणा गर्नुका साथै प्रतिष्ठानका अक्षयकोष दाता एवं तमु धीं यूकेका पूर्व अध्यक्ष नन्दजग तमुद्वारा छात्रवृत्ति प्राप्त विद्यार्थी स्नेह तमुलाई नगद सहयोग गरेका थिए ।
यही भदौ १० गते भोटेकोशीमा आएको विपद्ले देशमा शोक छाइरहेको यो अवस्थामा सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कुनै तामझाम बिना सञ्चालन गरिएको थियो ।
संस्थाका अध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव कन्चन तमुले सञ्चालन गरेका थिए ।