पोखरा । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका घान्द्रुक गाउँ भई यूके स्विन्डन निवासी पूर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा स्वागत गरिएको छ ।
समाजसेवी गुरुङ युकेबाट छोटो समयका लागि नेपाल आएको अवसरमा तमु धिं नेपालले स्वागत एवं भेटघाट कार्यक्रम आयोजना गरेको हो । तमु धिं नेपाल केन्द्रीय समिति, कास्की जिल्ला समिति, केन्द्रीय आमा समिति, केन्द्रीय युवा समिति, तमु विद्यार्थी समिति कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत गरेका थिए ।
सो अवसरमा गुरुङलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, कास्की अध्यक्ष प्रेमबहादुर गुरुङ, आमा समिति अध्यक्ष बालकुमारी गुरुङ, युवा समिति वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, विद्यार्थी समिति अध्यक्ष सतिश गुरुङ, कोने घोताने तमु समाज कास्की उपाध्यक्ष सइ रुद्रबहादुर गुरुङ लगायतले फेटा, भाङ्रा, बुके, खादा, गलबन्दी र टोपी लगाइदिएका थिए ।
बेलायतको कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका गुरुङले स्विन्डनस्थित नेपाली समाजको अगुवाइ गरिसकेका छन् । उनले तमु धिं नेपालको स्वागत र भेटघाट कार्यक्रमको लागि धन्यवाद दिए ।
तमु एकता, जागरूकता साथै नेतृत्वका लागि सबै संगठित हुनुपर्ने उनले बताए । वर्तमान सरकारको निकट रहेका गुरुङले राज्यबाट प्राप्त हुने सेवाबारे प्रक्रियागत अनभिज्ञता रहेको अवस्थामा आफ्नो तर्फबाट तमुहरूको लागि सक्दो सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
भोटेकोशी बाढीबाट विपद् अवस्थामा तमु धिं नेपालको राहत अभियानमा १० हजार रुपैयाँ प्रदान गर्दै सबै तमुहरुले राहत सहयोग तमु धिंमार्फत एकीकृत गरी हस्तान्तरण गर्न आग्रह गरे ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत, महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।