काठमाडौँ । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्र ( एमओयु) मा हस्ताक्षर भएको छ।
समझदारीअनुसार विदेश जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहकार्य गरिनेछ। साथै, शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा नेपालमा हुने प्रस्थानपूर्व तयारी र गन्तव्य मुलुकमा पुगिसकेपछिको समायोजनबीच समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरू रोजिना प्रधान राई, दिनेश पोखरेल, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दीपेश खत्री, सल्लाहकार यास्मिन सइद बेगम लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीले विदेश पुगेपछि काम खोज्ने, बसोबासको व्यवस्था मिलाउने र नयाँ वातावरणमा घुलमिल हुने क्रममा विभिन्न समस्या सामना गरिरहेको बताए ।
इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु)ले एनआरएनएसँगको सहकार्य विदेश जाने विद्यार्थीले विदेश पुगेपछि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले महत्वपूर्ण रहेको बताए ।