काठमाडौँ । ताप्लेजुङ समाज–नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका ताप्लेजुङका २९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ ।
शनिबार हरितालिका तीजको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । प्रमुख अतिथि एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा समाजका अध्यक्ष रमेश बरालले सम्मानित हुनेहरूलाई खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।
सम्मानित हुनेमा प्रतिनिधिसभा सदस्य गीताकुमारी सेन्दाङ, पूर्वमन्त्रीद्वय सीता गुरुङ र याङ्किला शेर्पा, निवर्तमान प्रतिनिधिसभा सदस्यद्वय लीलादेवी बोखिम र उर्मिला थेबे, कोशी कोशी प्रदेशसभाकी पूर्वसदस्य सदस्य होमकुमारी साँवासहित शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पर्यटन, उद्यमशीलता, कृषि, साहित्य, कला, पत्रकारिता, खेलकुद, विज्ञान तथा प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएका महिलाहरू रहेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो जन्मभूमि र कर्मभूमिसँग जोडिएका ताप्लेजुङका प्रतिभाले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिन् । यो सम्मानले समाजमा सकारात्मक काम गर्नेलाई थप प्रेरणा मिल्ने उनको भनाइ थियो ।
कार्यक्रमले काठमाडौँमा बसोबास गर्ने ताप्लेजुङवासीबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको समाजका अध्यक्ष बरालले बताए ।
कार्यक्रममा गायिका जुनु प्रसाईंलगायत कलाकारको बेजोड प्रस्तुतिसमेत रहेको थियो । सहभागीहरू पनि ताप्लेजुङको पहिचान झल्किने विभिन्न परिकार र स्टलमा रमाएका थिए ।
ताप्लेजुङको मौलिक संस्कृति, सामाजिक एकता र जिल्लाको गौरवलाई काठमाडौँमा समेत जीवन्त राख्ने महत्त्वपूर्ण अवसरका रूपमा कार्यक्रम सम्पन्न भएको सहभागीहरूले बताएका छन् ।
समाजले विभिन्न पर्व तथा अवसर पारेर काठमाडौँमा रहेका ताप्लेजुङ्गेहरूलाई जोड्ने कार्यक्रमहरू गर्दै आएको छ ।