पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ स्थित बिरेठाँटी क्षेत्रमा मोदी खोलाको भीषण बाढीले पुर्याएको वितण्डाप्रति तमु धीं नेपालले गम्भीर चासो व्यक्त गरेको छ।
अविरल वर्षासँगै आएको बाढीले पुर्याएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई लिएर संस्थाले एक विज्ञप्ति जारी गर्दै स्थितिप्रति ध्यानाकर्षण भएको जनाएको हो। तमु धीं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्याम गुरुङले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा बाढीका कारण अन्नपूर्णका विभिन्न वडासहित पर्वत, म्याग्दी र मुस्ताङ जोड्ने मुख्य सडक र विद्युत सेवामा अवरोध गरेको छ ।
बाढीको प्रभावले अवरोधले ऐतिहासिक एवम पर्यटकीय गाँउहरु वडा नं. ८ को बिरेठाँटी, चिम्रुङ, स्याउली बजार, साँधीखोला, दाङसिङ(त्हुँसी), मोहोरिया(मोरे), तमु, गैरीबाङ आङबाङ, साक्र्यु, वडा नं. ९ को तिखेढुंगा, सुदामे, साबेत(सबि), मौजा, उल्लेरी, आनन्दडाँटी वडा नं. १० को घान्द्रुक(कोंड),चाने, घान्द्रुक बेसीं, क्लिउँ, त्हाम्ले, सिवई, फुलिबाङ, कोल्टेभट्टी वडा नं.११ को घान्द्रुक (कोंड), उरी, मेलाचे, किम्रुङ खोला, घुर्जुङ, झिनुडाँडा, छोम्रोङ, टाडापानी, बनडाँटी, देउराली, अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ«े बेस क्याम्प, म्याग्दीको पुनहिल लगायतको गाँउ साथै क्षेत्र अत्यन्तै प्रभावित बनेको छ। स्थानीय घर, होटल र सडक पूर्वाधारमा व्यापक क्षति पुगेकाले पर्यटकीय व्यवसाय र जनजीवनमा लामो समयसम्म असर पर्ने देखिएको विज्ञप्तिमा जनाइएको छ।
बाढी प्रभावितहरूको उद्धार, राहत र अवरुद्ध सडक तथा विद्युत आपूर्ति पुनः सुरु गर्न तमु धीं नेपालले संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग जोडदार माग गरेको छ। जनप्रतिनिधिहरूलाई तत्काल अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै संस्थाले अझै वर्षा जारी रहेकाले थप जोखिमबाट जोगिन स्थानीय बासिन्दालाई सजग रहन र धैर्य गर्न भनेको छ। विपद्को यो कठिन समयमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक, संघ-संस्था र स्थानीय समुदायलाई सहयोगको हात फैलाउन पनि संस्थाले आह्वान गरेको छ। यसका साथै, संकटको सुरुवातमा मानवीय उद्धारमा स्थानीय सरकार, वडा प्रतिनिधि र कास्की जिल्ला प्रशासन कार्यालयले निर्वाह गरेको सक्रिय भूमिकाको संस्थाले प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेको छ।