पोखरा । पोखरा महानगरपालिका–९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा सहारा फुटबल एकेडेमीको सहयोगार्थ शनिबार पोखरामा आयोजना गरिएको ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ कार्यक्रम सम्पन्न भएको छ । पोखरा–९ स्थित महेन्द्रपुल (फल्चा) बाट सुरु भएको उक्त हाइकिङमा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।
उक्त हाइकिङ रानीपौवा, चापापानीचोक हुँदै पर्यटकीय गाउँ काहुँडाँडामा पुगेर समापन भएको थियो । हाइकिङको उद्घाटन पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रिबन काटेर गरेका थिए । काहुँडाँडामा आयोजित समापन समारोहमा बोल्दै वडाध्यक्ष मर्सानीले सहारा क्लबले गर्दै आएको सामाजिक सेवाको पवित्र अभियानमा सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए । सहारा क्लबले कठिन परिस्थिति र विपन्न परिवारका बालकलाई लक्षित गरी सञ्चालन गर्दै आएको सहारा फुटबल एकेडेमीको सहयोगार्थ हाइकिङ आयोजना गरिएको उल्लेख गर्दै उहाँले कार्यक्रमका लागि वडा कार्यालयले समेत सहयोग गरेको बताए ।
सूर्यबहादुर केसी मेमोरियल स्मृति सहारा एकेडेमीमा हाल विभिन्न १६ जिल्लाका ३० जना बालकले फुटबल प्रशिक्षणसँगै उच्च शिक्षा हासिल गरिरहेका छन् । उनीहरूको फुटबल प्रशिक्षण, शिक्षा तथा दैनिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको हाइकिङमा सहभागीले बगाएको पसिनाबाट संकलित रकम एकेडेमीको खर्च व्यवस्थापनमा उपयोग हुने वडाध्यक्ष मर्सानीले बताए । स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देश एकैसाथ प्रवाह गर्ने उद्देश्यले गरिएको कार्यक्रमले सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।
सहारा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठले क्लब हाल आफ्नो पुरानो कार्यालय नभएको अवस्थामा एकेडेमीबाटै सञ्चालन भइरहेको र एकेडेमी सञ्चालन तथा व्यवस्थापनमा विभिन्न चुनौती रहेको बताए । सहारा एकेडेमीलाई निरन्तर सञ्चालन गर्न यस्ता सामाजिक अभियानमा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँले बताए ।
कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, बुद्ध एयरका पोखरा स्टेशन म्यानेजर गौतम बराल, पोखराका अन्य वडाध्यक्ष, जनप्रतिनिधिहरु, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, सहारा क्लबका पूर्वअध्यक्षहरु, सल्लाहकार तथा मानार्थ सदस्यहरू, सहारा एकेडेमीका बालक, हाइकर्स क्लब नेपाल, लुम्बिनी विकास बैंक न्यूरोड शाखाका प्रमुख महेन्द्र श्रेष्ठ, बैंकका लेकसाइड शाखाका प्रमुख प्रकाश पहारी, एन्फा कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, कालिका माध्यमिक विद्यालय लगायत विभिन्न संघसंस्था, खेलकुदकर्मी तथा क्लबका शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको थियो । सहभागीलाई शुल्कमा टी–सर्ट, खाजा र खाना उपलब्ध गराइएको थियो । कार्यक्रमबाट संकलित रकम सहारा एकेडेमीको सहयोगमा प्रयोग गरिने क्लबले जनाएको छ ।
अभियानमा पोखरा महानगरपालिका–९, तमु धीं यूके, कास्की जिल्ला फुटबल संघ ९एन्फा०, सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दिपीलकुमार गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङ,सदस्य एवं सहारा युकेका सल्लाहाकार चन्द्रबहादुर गुरुङ, सहारा यू.के,क्लबका आजीवन सदस्य मनोज गुरुङ, मानार्थ सदस्य मुछेत्र गुरुङ, मनार्थ सदस्य लोकबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम), खेलकुदकर्मी नारायण गुरुङ, जयप्रकाश गुरुङ, सौन्दयकर्मी वविता केसी लगायतले सहयोग गर्नुभएको थियो । क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक पूर्ण बहादुर गुरुङले स्वागत गरेका थिए । कार्यक्रम महासचिव गङ्गाराज पौडेलले गरेका थिए ।
सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा कठिन परिस्थिति तथा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण र शिक्षाको अवसर प्रदान गरिँदै आएको छ । क्लबले आहा १ रारा पोखरा गोल्डकपसमेत सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रकृतिसँग रमाउने, पोखराका प्राकृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने उद्देश्यले गरिएको हाइकिङले सहारा एकेडेमीको निरन्तर सहयोगका लागि सकारात्मक वातावरण निर्माण गरेको आयोजकले जनाएको छ ।