काठमाडौँ । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । आगामी दुई वर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता चिजामाया विश्वकर्मा, महासचिव बीरमान विक र कोषाध्यक्षमा सीमा नेपाली चयन भएका छन् ।
संघको सदस्यहरूमा किरण पासवान, सुस्मिता विक, सुनिता वादी, सुस्मिता विक र बाबुलाल विक चयन भएका छन् । विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराई भौगोलिक आधारमा समेत समावेशी हुने गरी साधारणसभाले कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष गहतराजले बताए।
'अपांगता भएका, त्यसमाथि दलित समुदायका व्यक्तिहरू दोहोरो-तेहोरो विभेद र पीडा भोगिरहेका छन् । अपाङ्गता अधिकारको मुलधारको आन्दोलनमा उनीहरूको प्रतिनिधित्व छैन, उनीहरू पछि छुटेका छन् । त्यसकारण दलित समुदायका अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्ने, सशक्तिकरण र विकास गर्ने हाम्रो संघको उद्देश्य हो, हामी त्यही अभियानलाई अगाडि बढाउँछौँ,' अध्यक्ष गहतराजले भने ।
साधारणसभाले सातै प्रदेशमा फोकल पर्सनहरू पनि तोकेको छ । कोशीमा उमेश परियार र सीता बराइली, मधेशमा हिरादेवी दास र रमणकुमार दास, बागमतीमा मनमाया विक र सिर्जना सेञ्चुरी, गण्डकीमा बिशाल विक र संगीता विक, लुम्बिनीमा सीता दर्नाल र सुस्मा विक, कर्णालीमा विकास टमट्टा र सुदुरपश्चिममा लक्ष्मण विक र राधिका भुल फोकल पर्सन र सहायक फोकल पर्सन तोकिएका हुन् ।
त्यस्तै, सभाले एल्बिनो उपसमितिको संयोजकमा रामबहादुर बिक र उपसंयोजकमा संगीता रसाइलीलाई चयन गरेको छ । संघको गत आर्थिक वर्षको सांगठनिक र आर्थिक प्रतिवेदनहरू पारित गरेको छ भने आगामी वर्षको कार्ययोजना समेत तय गरेको छ ।
साधारणसभाको अवसरमा संघले संरक्षक तथा सल्लाहकारहरू राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, संविधानसभा सदस्य विनोद पहाडी र अधिकारकर्मी डा. प्रतिमा गुरुङलाई सम्मान गरेको छ ।
सभामा बोल्दै प्रतिनिधिसभा सदस्यत्रय गणेश विक, प्रेम वयक र यशुदाकुमारी बरालले अपाङ्गता अधिकारसम्बन्धी कानून निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरू भित्रको विविधतालाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।