पोखरा । पोखराको पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’मा पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर र एकीकृत सूचना केन्द्रसहितका सुविधा सञ्चालनमा आएको छ । पोखराको साहित्य, कला, संगीत, संस्कृति र पर्यटनसँग जोडिएका गतिविधिलाई एउटै केन्द्रबाट संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महानगरपालिकाले यो बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको भवनको शुक्रबार महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा उद्घाटन गरे । भवनमा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, सूचना केन्द्र र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालयसमेत रहने व्यवस्था गरिएको छ ।
पुस्तकालयका लागि ‘पोखरा घर’को पहिलो तला छुट्याइएको छ । यससँगै पोखरा सार्वजनिक पुस्तकालय नयाँ भवनमा सरेर सेवा सुरु गरेको छ । विसं २०४९ मा स्थापना भएको पुस्तकालयमा विभिन्न विधाका १२ हजारभन्दा बढी पुस्तक छन् ।
महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रूपमा क्षेत्री समाजको भवनमा सारिएको थियो । पुस्तकालय सञ्चालनका लागि भवनसँगै फर्निचरलगायत सामग्री महानगरले उपलब्ध गराएको छ ।
‘पोखरा घर’को दोस्रो तलामा ८ वटा ग्यालरी निर्माण गरिएका छन् । ती ग्यालरीमार्फत पोखराको कला तथा सिर्जनासँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सकिनेछ । भवनमै पोखरा कला प्रदर्शनी केन्द्र पनि रहनेछ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि कोसेली घरसमेत सञ्चालनमा ल्याइएको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको कोसेली घरको पनि औपचारिक उद्घाटन गरिएको छ ।
महानगर प्रमुख धनराज आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीको प्रदर्शन र बिक्रीका लागि कोसेली घर साझा थलो बन्ने बताए । पोखरा आउने पर्यटकलाई लक्ष्य गरेर सञ्चालन गरिएको कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने महानगरको अपेक्षा छ ।
भवनको भुइँतलामा कोसेली घरसँगै सूचना केन्द्र राखिएको छ । त्यहाँ सशुल्क स्नानघर र शौचालयको पनि व्यवस्था गरिएको छ । स्नानघरमा एक पटकमा ७ जनाले स्नान गर्न सक्नेछन् । शौचालय ११ जनाले एकैपटक प्रयोग गर्न सक्ने व्यवस्था छ । भवनको माथिल्लो भागमा दुई वटा घन्टाघर निर्माण गरिएका छन् । भूमिगत तलामा पार्किङको सुविधा छ । भवनमा विद्युतीय भ¥याङ अर्थात् लिफ्टसमेत राखिएको छ । ‘पोखरा घर’ आधुनिक, सुरक्षित र अपांगमैत्री संरचनाका रूपमा तयार गरिएको छ । परम्परागत वास्तुकलासँग आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर भवन निर्माण गरिएको हो ।
भवनका साइट इन्जिनियर लक्ष्मी गौतमका अनुसार भवन निर्माणमा भूकम्पीय प्रतिरोधात्मक प्रविधि र आधुनिक सुरक्षा मापदण्ड अपनाइएको छ । उनका अनुसार भवन निर्माणमा ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपैयाँ खर्च भएको हो ।