पोखरा । स्याङ्जा जिल्लाको दरौं, सिरुवारी, म्हाँजु बेझाङबाट पोखरा बसोबास गर्ने तमुहरुको साझा धरोहर श्री सोंपाल तमु समाजको अध्यक्षमा पहिलो महिला समाजसेवी सावित्री गुरुङ सर्वसम्मत चयन भएकी छिन् ।
पोखरा महानगरपालिका–८, बगालेटोल स्थित श्री सोँपाल तमु समाज धिंमा आयोजित ३७ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले सावित्री गुरुङको अध्यक्षतामा २५ सदस्यीय सर्वसम्मत कार्यसमिती गठन गरेको हो। यसरी नै अधिवेशनले मिना गुरुङको अध्यक्षतामा २६ सदस्यीय आमा समिति र रामकाजी गुरुङको संयोजकत्वमा ११ सदस्यीय युवा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समाजको कार्यसमितिको प्रथम उपाध्यक्षमा धनबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा सोमबहादुर गुरुङ, सचिवमा इन्द्रप्रसाद गुरुङ, सह–सचिवमा सूर्य मान गुरुङ, कोषाध्यक्षमा क्या. मिलन गुरुङ तथा सह–कोषाध्यक्षमा क्या. पूर्णबहादुर गुरुङ चयन भएका छन् ।
यसरी नै आमा समितिको उपाध्यक्षमा चन्द्रावती गुरुङ, द्वितीय उपाध्यक्षमा मञ्जु गुरुङ, सचिवमा रिता देवी गुरुङ, सह–सचिवमा अनिता गुरुङ, कोषाध्यक्षमा देवी शरण गुरुङ तथा सह–कोषाध्यक्षमा लक्ष्मी गुरुङ चयन भएका छन् ।
युवा समितिको सह–संयोजकमा रामकाजी गुरुङ चयन हुनुभएको छ भने सदस्यहरूमा रमेश गुरुङ, राजेन्द्र गुरुङ, सूर्य मान गुरुङ, श्यामराज गुरुङ, मनु गुरुङ, अशोक गुरुङ, भूपेन्द्र गुरुङ र कृष्ण गुरुङ रहेका छन् ।
निर्वाचन समितिका संयोजक मोतीप्रसाद गुरुङले नवनिर्वाचित कार्यसमितिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।अधिवेशन सम्पन्न भए पनि समाजको स्थापना दिवस भदौ १६ गतेदेखि नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गर्ने व्यवस्था रहेको जनाइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सोँपाल तमु समाज पोखरा सबैका लागि उदाहरणीय समाजका रूपमा स्थापित भएको बताए । समाजमा अग्रज तथा विशिष्ट व्यक्तित्वहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले तमु समाजहरूमा युवाको सहभागिता र आकर्षण बढाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
समाजका संस्थापक अध्यक्ष तथा पोखराका पूर्वउपमेयर क्या. मानबहादुर गुरुङले साधारण सभामा समाजका सदस्यहरूको अनिवार्य सहभागिता हुनुपर्ने बताउँदै समाज स्थापनाको पृष्ठभूमि तथा आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने विषयबारे धारणा राखे ।
साधारणसभामा समाजका सचिव ईन्द्र प्रसाद गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष क्या. मिलन गुरुङले आर्थिक प्रतिवेदन तथा आमा समितिका तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरू सभाबाट पारित भएका थिए। कार्यक्रम समाजका निवर्तमान अध्यक्ष दीपक कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रथम उपाध्यक्ष सावित्री गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव इन्द्रप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

