भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले चालु आर्थिक वर्षमा ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शनिबार आयोजित सार्वजनिक सुनुवाइमा अध्यक्ष थामबहादुर राईले चालुतर्फ ९० प्रतिशत र पुँजीगततर्फ ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए ।
चालु आवको गाउँसभाबाट ४४९ वटा योजना तथा कार्यक्रम छनोट गरी लाभग्राही समुदायबाट १३५ ठेक्का कोटेसन र गैह्रसरकारी संघसंस्थाबाट ९१ कार्यालयको नेतृत्वमा ११९ र अनिवार्य दायित्वअन्तर्गतका कार्यक्रम १०४ वटा कार्यक्रम कार्यान्वयन भएको सार्वजनिक सुनुवाइमा जानकारी दिइयो ।
पालिकाले उपलब्ध गराएको विवरणअनुसार सामाजिक विकासअन्तर्गत ७९ प्रतिशत, आर्थिक विकासतर्फ ८७ प्रतिशत, भौतिक पूर्वाधारतर्फ ८२ प्रतिशत, सुशासन तथा संस्थागत सेवा प्रवाहतर्फ ८९ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ९७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
यसैगरी, वडागत रूपमा ४ नम्बर र २ नम्बर वडा कार्यालयले सबैभन्दा बढी ९९ प्रतिशत प्रगति हासिल गरेका छन् । यस्तै, ३ नम्बर वडाले ९४ प्रतिशत ६ नम्बर वडाले ९३ प्रतिशत ५ नम्बरले ९२ प्रतिशत ८ नम्बरले ८८ प्रतिशत १ नम्बरले ८७ प्रतिशत र ७ नम्बर वडा कार्यालयले ७२ प्रतिशत प्रगति हासिल गरेका छन् ।
गाउँपालिका आव २०८१/०८२ को मलेपको रिपोर्टअनुसार जिल्लाकै कम र कोशी प्रदेशमा कम बेरुजु भएका ५ गाउँपालिकामा पर्न सफल भएको छ । यसले पालिकाको आर्थिक पारदर्शिता र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण फड्को मारेको देखिएको छ ।
सो अवसरमा यस आवमा उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समिति तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । वडा नम्बर ५ माने भन्ज्याङस्थित सुब्बेडाँडा रानागाउँ सडक स्तरोन्नति उपभोक्ता समिति तथा कर्मचारीहरू ज्ञानराज भट्टराई, राजेन्द्र पौडेल, श्रद्धा राई र महेश खड्कालाई नगद १० हजार रुपैयाँसहित खादा र प्रमाणपत्रले सम्मान गरिएको हो ।

शिक्षा र स्वास्थ्यको कारण देखाउँदै निरन्तर भइरहेको बसाइँसराइलाई न्यून गर्न गुणस्तरीय शिक्षामा जोड दिई यही आवबाट लागू हुनेगरी २१ बुँदे श्वेतपत्र जारी गरेको छ । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित केन्द्रमा १० बेडको अस्पताल निर्माणकार्य सुरुआत गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले आफूले सुरुदेखि नै भ्रष्टाचार र गरिबीलाई प्रमुख शत्रु मानेर नागरिकको हितमा काम गरेको बताए । पालिकाले गर्ने सार्वजनिक सुनुवाइमा पहिलेदेखि नै उपस्थिति न्यून रहने गरेको उल्लेख गर्दै उनले यसबाट सरोकारवाला नै आफ्नो घरदैलोको सरकारलाई प्रश्न सोध्नबाट वञ्चित भइरहेको उल्लेख गरे ।
लामो समयदेखि विवाद भएर रोकिएको पालिकाको प्रमुख प्रशासकीय भवन निर्माण पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् । आफूहरू कार्यकालको उत्तरार्धमा रहेकाले निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित अन्य विकास तथा पूर्वाधारका योजनाहरू सम्पन्न भएको तथा हुने चरणमा रहेको उनको भनाइ थियो ।
'तीन वर्षदेखि निर्माण भइरहेको शहीदपार्क तथा पाहुनाघर छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको, हाल संघ प्रदेश तथा स्थानीय सरकारको समन्वय सहकार्य तथा लागत साझेदारीमा आगामी तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी १८ करोड रुपैयाँको लागतमा वडा नं ६ बैकुण्ठेमा १० बेडको अस्पताल निर्माणको लागि ठेक्का प्रक्रिया पूरा गर्दै चालु आवबाट निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको, स्थानीय तह स्थापनापश्चात् दिगो विकासका लक्ष्यका साथ स्रोत साधनको मितव्ययी प्रयोग र सामाजिक हितलाई ध्यानमा राखी निर्माण भएका ठूला आयोजनाहरूको दिगो उपयोग तथा व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि निर्माण सम्पन्न भएका केही ठूला आयोजनाहरू जस्तै: सडक, खानेपानी सामुदायिक भवन शीत भण्डार पाहुनाघरको विषयमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी प्राप्त सल्लाहको आधारमा आवश्यक मापदण्ड बनाउने कार्यमा सरकार अघि बढिरहेको हुँदा उक्त कार्यमा स्थानीय सरकारलाई सुझाव दिनुहुन अनुरोध गर्दछौँ,' उनले भने ।
अध्यक्ष राईले पालिकाबाट यस आवभरी सञ्चालन र सम्पादन भएका मुख्य कार्य तथा योजनाको विवरणसमेत प्रस्तुत गरेका थिए । जसअनुसार पालिकाले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई ल्यापटपसहित प्रोत्साहन गरेको छ ।
यसैगरी कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप प्रदान, दीर्घरोगीहरूलाई मासिक ५ हजार रुपैयाँका दरले औषधी उपचार खर्चसहित पालिकाबाट एकमुष्ट ६० हजार रुपैयाँ औषधी उपचार सहायता उपलब्ध गराइएको छ । समुदायमा सक्रिय क्षयरोग पत्ता लगाउन एआई एक्सरे प्रविधिद्वारा खोजपड्तालकार्यक्रम सञ्चालन पालिकालाई पूर्ण खफव सुनिश्चितता तथा दिगोपता पालिका घोषणा गर्भवती तथा सुत्केरीलाई ५ हजार रुपैयाँका दरले पोषणत्ता प्रदान तथा ज्येष्ठनागरिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको छ ।
यसैगरी, पालिकाका पाँच वटा वडाका १२० जना कृषकलाई तालिम दिई निलोतुथो चुना र निमतेल वितरण तथा पालिकाभरीका किसानलाई सहकारीमार्फत रासायनिक मल ढुवानीमा अनुदान दिइएको छ ।
उद्यमशीलताको विकास गरी पालिकावासीलाई स्वरोजगार बनाउन पुनर्ताजगी तथा एडभान्स सीप विकास तालिम प्रदान गरिएको छ । गत चैत २ गतेको हावाहुरीबाट पीडित परिवारलाई १५ हजार रुपैयाँका दरले राहत प्रदान, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समुदायस्तरमा अभिमुखीकरण, मुन्दुम पदमार्गले छोएका वडामा होमस्टे तालिम प्रदान, पुनः श्रम स्वीकृतिका लागि सहजीकरण, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत प्रविष्टि गरिएको छ ।
सुरक्षित नागरिक आवासतर्फ ६०० नयाँ लाभग्राहीमध्ये ४९६ जनासँग सम्झौता भई २९५ जनाले दोस्रो किस्तासमेत लिइसकेका छन् भने ३६६ ले निर्माण सम्पन्न गरिसकेका छन् । घर निर्माण सम्पन्न तर दुवै किस्ता लिन बाँकी संख्या ७३ र सम्झौता भएको तर घर निर्माण नभएको आवास संख्या १३० रहेको छ ।