पोखरा । सांसद बिना गुरुङले नेपालकाे प्रतिनिधि सभामा नेपालको स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षामा गोर्खा सैनिकहरूले पुर्याएको ऐतिहासिक योगदानको कदर गर्दै उनीहरूको नागरिकता सम्बन्धी हक सुरक्षित गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुर्खाहरूले अंग्रेजसँग लडेर देश जोगाएको र बेलायती सेनामा रहेर पनि विश्वभर नेपालको वीरताको पहिचान स्थापित गरेको स्मरण गरिन् ।
सांसद गुरुङले गोर्खाहरूको त्याग र बलिदानले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएको इतिहास साक्षी रहेको बताईन् । तर, हालको नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ मा रहेको प्रावधानका कारण गोर्खा र उनीहरूका सन्ततिले वंशजको नागरिकता गुमाउनुपर्ने अवस्था सिर्जना भएकोमा उनको चिन्ता थियो । उनले संसद्मा भनीन्, 'नेपाल सरकारकै सहमतिमा बेलायतको आवासीय अधिकार प्राप्त गरेको आधारमा उनीहरूलाई नागरिकताबाट वञ्चित गरिनु न्यायसम्मत हुनै सक्दैन ।'
नेपाली पहिचान र रगत बोकेका गोर्खाहरूलाई आफ्नै मातृभूमिको नागरिकताबाट टाढा राखिनु गलत भएको तर्क गर्दै गुरुङले कानुनी सुधारको आवश्यकता रहेको बताईन् । उनले भनीन्, 'नागरिकता ऐनमा आवश्यक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने अवधारणालाई अवलम्बन गरेर उनीहरूको जायज मागलाई सम्बोधन गरियोस् ।'
सांसद गुरुङले गोर्खा सैनिक र उनीहरूका सन्ततिले अविच्छिन्न रूपमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारसँग विनम्र अनुरोध गरिन् । गोर्खाहरूले विदेशी भूमिमा रहेर पनि नेपालको शिर उच्च बनाएको हुनाले उनीहरूको नेपाली नागरिकको अधिकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन् ।
सांसद गुरुङले 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने अवधारणालाई कानुनी रूपमै आत्मसात गर्नुपर्नेमा जोड दिईन् । गोर्खा सैनिक र उनीहरूका सन्ततिले अविच्छिन्न रूपमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि नागरिकता ऐनमा आवश्यक संशोधन गर्न उनले माग गरिन् । 'नागरिकता ऐनमा आवश्यक संशोधन गरी 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने अवधारणालाई अवलम्बन गरियोस् र उनीहरूको जायज मागलाई सम्बोधन गरियोस्,' उनले भनीन् ।