पर्वत । मिलन ग्रुप अफ नेपालको आयोजनामा आउँदो फागुन १९ गते पर्वतको मोदी गाउँपालिकामा बृहत् शैक्षिक एवं साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
‘स्थानीय कला संस्कृतिको प्रवर्द्धन गरौं, बाल प्रतिभाको खोजी थालौं । समाजका लागि मिलन ग्रुप अफ नेपालको लगानी, समाजसेवाको दीप बाल्न गरौं आजैबाट थालनी’ भन्ने मुल नाराका साथ ‘मिलन ग्रुप अफ नेपाल’को स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । मोदी गाउँपालिका–५ बाजुङस्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रममा वडास्तरमा प्रा.वि. तहका विद्यालयहरु सहभागी हुन पाउने गरी लोकनृत्य प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र दिइनेछ । सोही दिन नै पालिकास्तरमा माध्यमिक विद्यालयहरु सहभागी हुन पाउने गरी वक्तृत्वकला प्रतियोगिता राखिएको छ । जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्नेहरुले क्रमशः सात हजार पाँच सय, पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिने मिलन ग्रुप अफ नेपालले बताएको छ ।
कार्यक्रममा रत्यौली तथा भजनसहित पञ्चेबाजाको प्रस्तुति पनि राखिएको छ । यसमा सहभागी हुने सबै समूहलाई प्रोत्सहानका लागि तीन हजार रुपैयाँ सहित प्रमाणपत्र दिइने तथा उत्कृष्ट एक समूहलाई पुरस्कार पनि दिइने छ ।
कार्यक्रमको सहआयोजकमा मिलन फउन्डेशन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि र मिलन ट्रस्ट २०७४ रहेका छन् । यो कार्यक्रमको आयोजना गरेको मिलन ग्रुप अफ नेपालमा अन्य सदस्य संस्थाहरु आबद्ध रहेका छन् । तिनीहरु मिलन फाउन्डेशन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि, मिलन ट्रस्ट २०७४, बाजुङ शैक्षिक प्रतिष्ठान, तमुस्यो रि–च्हमी परिवार, मिलन वर्ल्डडट न्यूज, मिलन पुस्तकालय पाल्पा, मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मिलन प्रगतिशील महिला कृषक समूह, मिलनशील दलित कृषक समूह, बाजुङ स्वास्थ्य अक्षयकोष, नरबहादुर गुरुङ स्मृति अक्षयकोष, आयुक अर्गानिक कृषि फर्म, मिलन किवी फर्म, मोदी युवा सञ्जाल बाजुङ र मिलन विपन्न महिला कृषक समूह रहेका छन् ।
बृहत् शैक्षिक एवं सांस्कृतिक कार्यक्रम मिलन ग्रुप अफ नेपालका संयोजक तथा समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’कै अध्यक्षतामा सम्पन्न हुन लागेको हो । उनी फागुन ९ गते हङकङबाट नेपाल पुग्ने कार्यक्रम छ । बाजुङकै फलाल्नेमा घर भई हाल हङकङ बस्दै आएका गुरुङ लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न सदस्य संस्थामार्फत आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् ।
पर्वत मञ्च हङकङको अध्यक्ष र नेपाली जनप्रगतिशिल मञ्च हङकङका अध्यक्षसमेत रहेका गुरुङले पर्वत जिल्लासहित देशका विभिन्न स्थानमा रहेका विद्यालय, समुदाय, आर्थिक समस्यामा परेका, विपन्न, गरिब तथा दलित, विद्यार्थी, युवा क्लबलगायतलाई पनि आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आइरहेका छन् ।
सुरुमा ‘मिलन फउन्डेसन नेपाल संस्था स्थापना गरेको भए पनि अन्य संस्थाहरुको सङ्ख्या धेरै भएपछि ‘मिलन ग्रुप अफ नेपाल’लाई छाता संस्थाका रुपमा राखेर अन्य संस्थाहरुलाई त्यही ग्रुपको सदस्य संस्थाका रुपमा राखिएको छ । सोही अवसरमा तीन वटा विद्यालयका विद्यार्थीहरुलाई जाडो छल्नका लागि न्यानो कपडा पनि वितरण गर्न लागिएको आयोजक मिलन ग्रुप अफ नेपालले बताएको छ ।
नृत्य, वक्तृत्वकला मुख्य कार्यक्रमहरु भएको भए पनि अन्य धेरै साना कार्यक्रमहरु पनि सञ्चालन गर्न लागिएको छ । कार्यक्रममा कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुने छन् । सोही कार्यक्रममा समाजसेवी गुरुङले संस्थाका तर्फबाट निर्माण गरेका बाटो, कुलो, चौतारा, लगायतका पूर्वाधारहरु स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएको छ ।