पोखरा । तमु धिं नेपाल कास्की जिल्ला समितिले आफ्नो पहिलो स्थापना दिवस तथा साधारण सभा विभिन्न रचनात्मक कार्यक्रमका साथ पोखरामा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि एवं तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुम बहादुर गुरुङले सामाजिक संघसंस्थाहरू दुःख-सुखको साझा चौतारी भएको उल्लेख गरे। उनले आपसी एकता र सहकार्यबाट मात्रै व्यक्तिगत तथा सामूहिक पीडाहरू कम गर्न सकिने विश्वास व्यक्त गर्दै तमु समुदायको समग्र हितका लागि आफू सधैँ इमानदारपूर्वक एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए। साथै, उनले जिल्ला समितिमा अक्षयकोष स्थापना गरेर गुन लगाउने संरक्षक तथा सल्लाहकारका परिवारप्रति कृतज्ञता प्रकट गरे।
संस्थालाई मजबुत बनाउन आर्थिक, भौतिक र नैतिक सहयोगको खाँचो पर्ने कुरामा तमु धिं नेपाल केन्द्रीय संरक्षक परिषद्का सह–संयोजक मेजर लक्ष्मी प्रसाद गुरुङले जोड दिए। सोही अवसरमा उनले र उनकी धर्मपत्नी हुम कुमारी गुरुङले संस्थामा १ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरे। यसैगरी, सल्लाहकार सदस्य बेल प्रसाद गुरुङ र जिल्ला सदस्य गिरेन गुरुङको परिवारले आफ्ना स्वर्गीय बाबु-आमा खम्बा सिंह गुरुङ र कौशिला गुरुङको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको अर्को अक्षयकोष खडा गरे। यो कोषबाट प्रत्येक वर्ष कास्की जिल्लाबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिने जानकारी दिइएको थियो ।
जातीय पहिचान र भाषाको संरक्षणबारे बोल्दै तमु ह्युल छोँज धिं कास्कीकी अध्यक्ष सीता गुरुङले मातृभाषाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरिन् । उनले गुरुङ गाउँबस्ती र थाकथलोको मौलिक नामहरू सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको समेत बताइन् । कार्यक्रममा तमु धिं नेपाल स्याङ्जाका जिल्ला अध्यक्ष बाल कृष्ण गुरुङले भाषा र संस्कृतिको जगेर्नामा समुदाय नै सक्रिय हुनुपर्ने धारणा राखे भने मादी गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर गुरुङले गुरुङ भाषाको शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मिरुवा तमु समाजका अध्यक्ष खर्कमान गुरुङले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थापना दिवसको अवसर पारेर संस्थालाई विभिन्न समयमा सहयोग पुर्याउने मिरुवा तमु समाजसहित कृष्ण बहादुर गुरुङ, तिल कुमारी गुरुङ, यज्ञ प्रसाद गुरुङ, सविता गुरुङ र ई. प्रणय गुरुङ लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरियो। कार्यक्रममा नवगठित तमु विद्यार्थी कास्की जिल्ला समितिलाई बधाई ज्ञापन गर्दै १० हजार रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराइएको थियो ।
साधारण सभामा सचिव रेशु गुरुङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राम कुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति र कोषाध्यक्ष राम कुमारी गुरुङको कविता वाचनले कार्यक्रमलाई थप रोचक बनाएको थियो। तमु धिं नेपाल कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष यज्ञ प्रसाद गुरुङले स्वागत गरेका थिए भने सञ्चालन सचिव रेशु गुरुङ र सह–सचिव कृष्ण माया गुरुङले संयुक्त रूपमा गरे।