लन्डन । नेपाली युवा व्यवसायी सूर्य गुरुङ १० किलोमिटरको लन्डन विन्टर रनमा सहभागी भएका छन् ।
क्यान्सर रिसर्च यूकेले आइतबार मध्य लन्डनमा आयोजना गरेको 'लन्डन विन्टर रन १०k' दौडमा पिपल ग्रुपका प्रबन्ध निर्देशक गुरुङले ५७ मिनेट ११ सेकेन्डमा दूरी पार गरेका हुन् । दौडमा सूर्य गुरुङ, खिम थापासहित झन्डै १८ हजार जना सहभागी थिए ।
'१० के १ घण्टाभित्र पूरा गर्न सक्छु कि भन्ने थियो । तर मैले ५७ मिनेटमा उक्त दुरी पार गर्न सकेँ । म आफैंले भन्दा राम्रो प्रगति गरेको रहेछु । धेरै खुसी छु,' दौडपछि गोर्खा मिडियासँग छोटो कुराकानीमा उनले भने, 'यसअघि सोही दुरी १ घण्टा ६ मिनेटमा पार गरेको थिएँ ।'
उनले दौडिँदा रेसकोर्स, मौसम, सडक कस्तो छ भन्नेमा निर्भर हुने अनुभव सुनाए । पछिल्लो तीन महिनादेखि निरन्तर दौडमा सहभागी हुँदै आएका गुरुङले आफू मुख्यगरी तीनवटा फाइदाका लागि यसमा लागिरहेको बताए । 'म पहिलेभन्दा छिटो दौडिन सक्छु कि भन्ने मेन्टल स्ट्रोङ हुन, दोस्रो स्वस्थ रहन र तेस्रो व्यावसायिक/पारिवारिक तनावबाट मुक्त हुनका लागि म दौडिन्छु,' उनले भने ।
'पहिले-पहिले आइतबारतिर मान्छेहरु बिहान दौडिँदा किन नसुती दौडिएका होलान् भन्ने सोच्थें । साँच्चै भन्दा मलाई उनीहरु पागल जस्तो लाग्थ्यो,' उनले सुनाए, 'तर उमेर बढ्दै जाँदा कसरी स्वस्थ रहने भन्ने चाहना हुँदोरहेछ । स्वास्थ्य नै धन हो भनिन्छ । स्वस्थ रहन के गर्नुपर्छ भन्नेमा साथीहरुले सुझाव दिँदा दौड धेरै राम्रो भन्ने भयो । त्यहीअनुसार दौडिन थालेको हुँ ।' उनले रनिङ गर्दा स्ट्रेसहरु रिलिफ भएको, ठन्डीमा दौडँदा रिफ्रेस भएको अनुभवसमेत सुनाए ।
व्यस्त मान्छे कसरी दौडिने समय मिलाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'समय आफ्नै हातमा छ । समय कसरी म्यानेज गर्ने भन्ने आफ्नै कन्ट्रोलमा छ । जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान पनि छ । समय कुन कुरामा लगाउने भन्ने आफ्नो डिसिजन हो । आफ्नो इच्छा हो । अर्को जिम्मेवारी पनि वहन गर्ने कुरा ।'
दौडलगायत खेलकुदमा लागेपछि मान्छेलाई सुत्ने, उठ्ने, पिउनेजस्ता कुरामा अनुशासित बनाउने अनुभव सुनाउँदै उनले यसमा धेरै खालका फाइदा रहेको उल्लेख गरे । व्यवसायी गुरुङले स्वस्थ रहनका लागि जुनसुकै खेलकुद गर्दा पनि हुने सुझाव दिएका छन् । 'दौडनै पर्छ भन्ने छैन । जसलाई जुन खेल मन पर्छ त्यही गर्नु होला । जसको धेरै फाइदाहरु छन्' उनको भनाइ थियो ।