पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा गोर्खा मिडियाका सल्लाहकार वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् ।
पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।
देशको विषम परिस्थितीमा समेत उपस्थित भइ फोटोको माध्यामबाट इतिहासलाई जीवन्त राख्न फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै फोटो पत्रकारको हितका लागि स्थापना गरिएको अक्षयकोषमा पोखराका प्रतिष्ठित घरानाहरुले समेत साथ र सहयोग गर्नुपर्ने उनले बताए ।
उनी यसअघि नेपाल ओपम्पिक कमिटी प्रदान गर्ने एनओसी बेस्ट क्यामेरापर्सन अवार्डबाट नगद ५० हजार रुपैयाँसहित सम्मानित भएका थिए । सोही पुरस्कार रकममा १३ हजार थप गरी ६३ हजार रुपैयाँ अक्षय कोषमा सहयोग गरेको उनले जानकारी दिए ।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार रञ्जित प्रति आभार प्रकट ब्यक्त गरे । पोखराको खेलकुद र फोटो पत्रकारिताको इतिहासमा फोटो पत्रकार रञ्जितको विशेष योगदान रहेको उनले सुनाए ।
नागरिक अभियन्ता रामबहादुर पौडेलले पोखराको इतिहासमा फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । ६२/६३ को जनआन्दोलन, २०७२ को भुकम्प र २०८२ को जेनजी आन्दोलन र विभिन्न ऐतिहासिक गतिविधीहरुमा कास्कीका फोटो पत्रकारहरुले पोखराको इतिहास जीवन्त राख्ने काम गरेको बताउदै फोटो पत्रकारलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पछिल्लो समय फिर्के खोलाको संरक्षणमा महानगरका केही वडाहरुले भने जस्तो काम नगरेकाले नागरिक समाजको खवरदारीमा साथ र सहयोग गर्न समेत फोटो पत्रकारहरुलाई पौडेलले आग्रह गरे ।
यसैविच फोटो पत्रकार संघ कास्कीले विभिन्न संघसंस्थाबाट सम्मानित र पुरस्कृत साथै पत्रकार सम्वद्ध संघसंस्थाको नेतृत्वमा निर्वाचित फोटो पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ । आईतबार एक कार्यक्रम आयोजना गरीसुदर्शन रञ्जित (एनओसी बेस्ट क्यामेरापर्सन अवार्ड), कृष्णमणि बराल (दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार), ईन्द्र पौडेल (संस्कृति संरक्षण पत्रकारिता सम्मान), दुर्गा रानामगर (पोखरा महानगर युवा प्रतिभा पुरस्कार), विश्वकर्मा समाज कास्कीबाट सम्मानित सुरेश सुनार र सञ्चारिका समुह गण्डकीको अध्यक्षमा निर्वाचित राधिका कँडेललाई बधाइ ज्ञापन गरिएको थियो ।
बधाई ग्रहणपछि संस्थाकी सहसचिव दुर्गा रानामगरले पुरस्कार, सम्मान तथा बधाईले पत्रकारिता क्षेत्रमा लाग्नका लागि उर्जा पैदा हुने बताइन् । सोही कार्यक्रममा नागरिक अभियान्ता रामबहादुर पौडेलले अक्षयकोषमा थप रकम सहयोग गरेका छन् ।
