काठमाडौं । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा २३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष नन्द घर्ती मगरको सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष रक्ष बहादुर रैका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मगर कला, संस्कृति, भाषा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली सालैजो गायनलाई राष्ट्रिय पहिचान दिलाउन, यसको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा दशकौँ देखि अतुलनीय योगदान पुर्याउँदै आएका वरिष्ठ लोकगायक तथा स्रष्टा खड्ग गर्बुजा मगरलाई ‘सालैजो शिरोमणि’ मानपदवी उपाधिबाट विभूषित गरिएको घोषणा गरिएको थियो ।
उक्त सम्मान सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन तथा नेपाल मगर संघका अध्यक्ष रक्ष बहादुर रैका मगरको संयुक्त उपस्थितिमा प्रदान गरिएको थियो । त्यसैगरी, नेपाल सरकारको अमूर्त सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीमा मगर समुदायको “भुमे पर्व” र “नचारु स्याईं नाच” सूचीकृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै सांस्कृतिक संस्थानको नेतृत्व सफलतापूर्वक सम्हालेका महाप्रबन्धक किरण बाबु पुन लाई अभिनन्दन–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रमार्फत निरन्तर उत्कृष्ट योगदान पुर्याउँदै विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा उल्लेखनीय सफलता हासिल गरेका चर्चित कलाकारहरूलाई पनि बधाई–पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा चर्चित लोकदोहोरी गायक दिलीप थापा मगर, अनुप आले मगर, चर्चित लोकदोहोरी गायिका संगिना थापा मगर, पार्वती आले मगर रहेका थिए। उनीहरूको उल्लेखनीय उपलब्धिले नेपाली लोकदोहोरी संगीतसँगै मगर समुदायको कला–संस्कृतिको गरिमा थप उचाइमा पुर्याएको भन्दै संघले उच्च प्रशंसा व्यक्त गरेको थियो ।
कार्यक्रममा वक्ताहरूले मगर समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा, कला तथा परम्पराको संरक्षणका लागि नेपाल मगर सांस्कृतिक संघले विगत २३ वर्षदेखि निरन्तर गरिरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सांस्कृतिक अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य, बधाई तथा सम्मान समारोह सम्पन्न भएको थियो । उपस्थित अतिथिहरूले सम्मानित व्यक्तित्वहरूको योगदानले भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै मगर कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए ।
नेपाल मगर सांस्कृतिक संघले स्थापना दिवसको अवसरमा प्रदान गरिएका सम्मान तथा बधाईले मगर समुदायका प्रतिभाशाली स्रष्टा, कलाकार तथा संस्कृतिकर्मीहरूको मनोबल अझ उच्च हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।






