नेपाल । बेलायतमा आयोजित एक परोपकारी सांगीतिक कार्यक्रमबाट सङ्कलित रकमले नुवाकोटस्थित श्री गोल्फुभञ्ज्याङ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पुगेको छ। गोर्खा मिडियाको आयोजनामा वि.सं. २०८२ भदौ १५ गते बेलायतमा सम्पन्न भएको सांगीतिक साँझबाट प्राप्त रकमले विद्यालयको मुख्य प्रवेशद्वार र घेराबार निर्माण गरिएको हो।
नवनिर्मित संरचनाको उद्घाटन वि.सं. २०८३ असार १० गते बुधबारका दिन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको सुरुआतमा प्रमुख अतिथिसहित अन्य अतिथिहरुलाई खादा मालाले स्वातग गरिएको थियो । त्यसपछि सोही विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीका तर्फबाट लाेप्साङ तामाङले स्वागत मन्तव्य राखेपछि मुख्य प्रवेशद्वार र घेराबार उद्घाटन गरिएको हो । कार्यक्रमकी मुख्य आकर्षण तथा प्रमुख अतिथि गायिका पवित्र गुरुङले रिबन काटेर प्रवेशद्वार र घेराबारको उद्घाटन गरेकी थिइन्।
उद्घाटनपछि मञ्चमा फर्कदा मार्चपास गरिएको थियो । विद्यार्थीहरुले नृत्य, गीत र कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक मनबहादुर तामाङ, सरिता गुरुङ, सुभद्र गुरुङ, पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुल्फे चन्द्र गुरुङलगायतले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गायिका पवित्र गुरुङलाई सम्मानपत्र र मायाको चिनाे प्रदान गरिएको थियो । आफूले अध्ययन गरेको विद्यालयका लागि केही योगदान गर्न पाउँदा खुसी लागेको उनीले बताइन् । कार्यक्रमको अन्त्यमा सभापति मन दोर्जे तामाङले सबैलाई धन्यवाद दिदैं कार्यक्रम समापन गरेका थिए ।
गोल्फुभञ्ज्याङ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सोही विद्यालयकी भूतपूर्व छात्रा तथा चर्चित गायिका पवित्र गुरुङ र डीएमी (DMT) ब्यान्डले बेलायतमा संयुक्त साङ्गीतिक प्रस्तुति दिएका थिए । सो अवसरमा बेलायतवासी नेपालीहरूबाट स्वतःस्फूर्त रूपमा ९ लाख १२ हजार ६ सय ८० रुपैयाँ सङ्कलन भएको थियो । सोही रकमको सदुपयोग गर्दै विद्यालयमा आकर्षक प्रवेशद्वार र सुरक्षित घेराबार निर्माण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले बताएको छ । सोही रकमबाट १ लाख रुपैयाँ बराबरको टेन्ट र कुर्ची पवित्र गुरुङले आफ्नै गाउँको आमा समूहलाई हस्तान्तरण गरेकी थिइन् ।
यस अभियानलाई सफल बनाउन गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सह-सम्पादक प्रकाश गुरुङको संयोजकत्वमा साङ्गीतिक कार्यक्रम गरिएको थियो । उक्त अभियानमा तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, डीएटी ब्यान्डका संस्थापक दिनेश गुरुङ र ब्यान्डका सदस्यहरूका साथै फर्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टका प्रोप्राइटर सूर्य गुरुङले विशेष सहयोग पुर्याएका थिए । साथै यूकेमा अवस्थित समाज र व्याक्तिहरूले पनि मनग्य सहयोग गरेका थिए ।






