पोखरा । तमु धिं नेपाल केन्द्रीय समितिले कास्कीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङको स्वागतमा एक विशेष भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराको नयाँबजारस्थित तमु धिं नेपालको केन्द्रिय कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रजिअ गुरुङलाई सामुदायिक पहिचान र परम्परा अनुसार सम्मान गरिएको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाको शान्ति सुरक्षा, सुशासन र प्रशासनिक कार्यलाई चुस्त बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले सरकारी सेवा लिन आउने नागरिकहरूलाई झन्झटरहित वातावरण सिर्जना गर्नु आफ्नो प्राथमिकता भएको उल्लेख गरे ।
व्यक्तिगत कागजातहरू अद्यावधिक गर्ने क्रममा नागरिकहरूले भोग्नुपरेका समस्याप्रति आफू सचेत रहेको बताउँदै प्रजिअ गुरुङले भने, ‘म कानुनको पालना गर्ने र गराउने जिम्मेवारीमा छु, कानुनले दिएको अधिकारभित्र रहेर नागरिकका कामहरू एक सेकेन्ड पनि ढिलो नगरी सम्पन्न गर्न म र मेरो प्रशासन सधैं तत्पर रहनेछ ।’ उनले भ्रष्टाचारमुक्त समाज र पारदर्शी प्रशासनिक संयन्त्र निर्माणमा सबैको साथ आवश्यक रहेकोमा समेत जोड दिए ।
यस्तै, कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले कास्कीको प्रशासन प्रमुखका रूपमा आफ्नै समुदायको व्यक्तित्वलाई पाउनु सम्पूर्ण तमु समुदायका लागि गौरवको विषय भएको बताए । उनले प्रजिअ गुरुङको सफल कार्यकालको शुभकामना दिँदै सामाजिक र सांस्कृतिक संरक्षणका कार्यमा जिल्ला प्रशासनको रचनात्मक सहयोग रहने विश्वास व्यक्त गरे । अध्यक्ष तमुले भने, ‘प्रशासनको उच्च तहमा पुगेर समाजको सेवा गर्ने गुरुङ समुदायको प्रतिनिधित्वले युवा पुस्तालाई निजामती सेवातर्फ आकर्षित गर्न ठूलो ऊर्जा प्रदान गरेको छ, हामी प्रशासनसँग सहकार्य गर्दै समाजको हितमा काम गर्न सधैं तयार छौँ।’
तमु धिं नेपालले आयोजना गरेको उक्त स्वागत कार्यक्रममा विभिन्न क्षेत्रका तमु समुदायका अगुवाहरु, आमा समूह, युवा समूह, तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरुले प्रजिअ गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै पोखरा र समग्र कास्की जिल्लाको विकास र सुरक्षामा उनको कार्यकाल स्मरणीय रहने आशा व्यक्त गरेका थिए ।