लन्डन । किरात राई जातिको मौलिक संस्कार, संस्कृति, रीतीरिवाजमा आधारित चलचित्र 'यारी' बेलायतमा प्रदर्शन हुने भएको छ ।
आउँदो ४ मार्च २०२३ का दिन अल्डरसटस्थित प्रिन्सेस हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं मेजर योगेश कोयी राईले जानकारी दिए । मार्च ४ तारिख शनिबार दिउँसो २ बजेबाट सुरु हुने चलचित्र प्रदर्शनमा उपस्थित हुन उनले बेलायतवासी नेपालीलाई अनुरोध गरेका छन् ।
उमेर समूह अनुसार चलचित्र हेर्न १०, १५, २५ र ३५ पाउन्ड शुल्क तोकिएको छ ।
'यारी' चलचित्र बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको हो । यसमा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले संस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताएका छन् ।
अध्यक्ष राई चलचित्र यारीको समेटिएको कथावस्तुलाई यसरी वर्णन गर्छन् । 'किराती समुदायमा जब कुनै व्यक्ति बिरामी हुन्छ । सारो परेपछि हस्पिटलहरुमा लगिन्छ । तर कतै लाँदा पनि निको नभएपछि । यो बिरामी निको हुन्छ कि हुँदैन या उसको भविष्य कस्तो छ भनेर जोखना यारी (अदुवा) काटेर मुन्धुम धामीले सुम्निमा पारुहाङ कुलपितृ देवतासँग बल माग्नु हुन्छ । त्यतिबेला चाल पाइन्छ कि यो बिरामी कति बाँच्ने, के उपचार गर्नुपर्छ । उहाँको आत्मा कस्तो छ भन्ने जानिन्छ र त्यहीअनुसार उपचार गरिन्छ ।'
त्यस्तै चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आफ्नो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रीतिरिवाजलाई संरक्षण र संवर्द्धधन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको छ ।
भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामीण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई जाइका राई लगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगीत रहेको चलचित्रको पार्श्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । जनक राईको नृत्य निर्देशन रहेको छ ।