पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजनामा भएको छैटौं संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिलातर्फ जुम्लाकी मञ्जु रावतले जितेका छन् ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ बुधबार भएको म्याराथनमा पुरुषतर्फ उपाधि हात पारेका जुम्लाका दलबहादुरले ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा दुरी पार गरे । पाचाँै संस्करण्मा उनी ४ घण्टा ३३ मिनेट २१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका थिए । यस वर्ष नेपाली सेनाका तिलकबहादुर सुनुवारले ४ घण्टा १० मिनेट ८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा रहे । तिलक अघिल्लो संस्रकणमा निर्धारित दुरी ४ घण्टा २४ मिनेट ४ सेकेण्डमा दुरी पार गदै विजेता बनेका थिए । १ वर्षपछि उनले उक्त दुरी १४ मिनेट कममा पार गरेपनि उपाधि हात पार्न भने सकेनन् ।

पुरुषतर्फ घान्द्रुकका स्थानीय सचिन गुरुङले ४ घण्टा ४९ मिनेट १२ सेकेण्डमा म्याराथन पुरा गर्दै तेस्रो स्थान हात पारे । उनी यस अघिको संस्करणमा ४ घन्टा २६ मिनेट ३ सेकेण्डमा दुरी पार गदै पाँचौ स्थान रहेका थिए । रोधीं क्लब घान्द्रुकका सदस्य समेत रहेका सचिन ६ वर्षदेखिको लगातारको मेहतनले यो पटक तेस्रो बनेका हुन् ।
महिलातर्फ पहिलो भएकी मञ्जुले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दुरी पार गदै उपाधि हात पारिन् । ६ घण्टा ५६ मिनेट २५ सेकेण्डमा दुरी पार गदै राज्यलक्ष्मी रावल दोस्रो र ७ घण्टा ५६ सेकेण्डमा दुरी पार गरेकी कल्पना बुढा तेस्रो भईन । उनीहरु तीनै जना जुम्लाकी धावक हुन् ।
बुधबार बिहान ७ बजे अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले अन्नपूर्ण आधार शिविरबाट म्याराथनको सुरुआत गरेका थिए । आधार शिविरबाट दौड सुरु गरेका धावकले माछापुच्छ«े बेस क्याम्प, देउराली, हिमालय, दोभान, बेम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर दौड पुरा गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।
म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो भएका धावकहरुलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई गाउँपालिका अध्यक्ष विष्णु केसी, पुर्वअध्यक्ष युवराज कुँवर, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसरमा आयोजना गरिएको म्याराथन अन्नपूण क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गरि अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकास सँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उदेश्य रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले बताए ।
यस पटक ६ विदेशी सहित ५१ जनाले धावकले प्रतिस्पर्धा गरेको अध्यक्ष गुरुङले जानकारी दिए । यस अघि म्याराथनको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमाल, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाट, तेस्रोमा जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारी, चौथोमा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ र महिलातर्फ खोटाङकी निर्मला राई, पाँचौमा महिलातर्फ नेपालकी अन्तराष्ट्रिय धावीका सुनमाया बुढा र पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवारले उपाधि हात पारेका थिए ।