पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा “ह्यारी की प्यारी” टोली यतिबेला राजधानी बाहिर प्रोमोशन टुरमा छ । आइतबारमात्र पोखरामा पत्रकारहरुसँग साक्षात्कार गर्दै टोलीले फरकधारको सिनेमा भएको दाबी गर्यो । निर्देशक डा. कपिल रिजालले सिनेमा नेपाली परिवेशलाई समेट्ने गरी बनेको अभिव्यक्ति दिए । उनले भने, ‘ह्यारी की प्यारी नेपाली कल्चरलाई समेट्ने सिनेमा हो । नेपालको संस्कृतिलाई सिनेमामार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मदत पुग्ने विश्वास लिएका छौं ।’
ह्यारी की प्यारी सिनेमालाई नेपाली, बंगाली, हिन्दी, मराठी भाषामा डबिङ गरिएको जानकारी उनले गराएका छन् । ३० वर्षदेखि युकेमा डेन्टिसको डाक्टरको कर्म गर्दै आएका रिजालको सिनेमा प्रतिको लगाव सानैदेखि भएकाले पनि उनलाई यसतर्फ आकर्षण बढ्यो । उसो त उनका बुवा डा. भोला रिजालले पनि नेपाली सिनेमा क्षेत्रमा काम गरिसकेका छन् । लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमा भोला रिजालले नै लेखेका हुन् ।
बुवा सिनेमा क्षेत्रमा काम गरेको भएर होला कपिललाई पनि सिनेमा बनाउने रहर थियो । जसलाई अहिले आएर उनले पूरा गर्न पाएका छन् । कपिल भन्छन्, “मेरो बुवाले नेपालका पूराना रुचाइएका लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमाहरुमा कथा लेख्नुभयो । मलाई पनि पहिलेदेखि नै सिनेमा क्षेत्रमा काम गर्न मन थियो । जुन अहिले पूरा भएको छ ।’
यसअघि कपिलले म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् । सिनेमा ‘ह्यारी की प्यारी’ को कन्सेप्ट कोभिडको समयमा आएको उनले बताए । दुई फरक परिवेशको मान्छेलाई जोड्ने कथा भएकाले पनि ‘ह्यारी की प्यारी’ निर्देशन गर्न आफु तयार रहेको उनले उल्लेख गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सिनेमा राम्रो बनेको अभिव्यक्ति दिइन् । दर्शकले सिनेमामा आफ्नो भूमिकालाई रुचाउने भनाई उनको छ । नेपाली मौलिकतालाई आधुनिक तवरले प्रस्तुत गरिएको भएर पनि दर्शकलाई सिनेमाको कथा मन पर्नेमा उनी विश्वस्त देखिन्छिन् ।
साम्राज्ञी भन्छिन्,‘सिनेमा राम्रो टिमका कारण चल्ने हो । सिनेमाको कन्टेन्टका आधारमा नै सफलता मिल्ने गर्छ । सिनेमा राम्रो भयो भने त्यसको जस सबै टीमलाई हुन्छ । यदि राम्रो चलेन भने त्यसको सम्पूर्ण अपजस एक आर्टिस्टले मात्र खेप्नुपर्छ । तर ह्यारी की प्यारी सिनेमा त्यस्तो छैन । पारिवारिक सिनेमा भएकाले सफलता अवश्य मिल्छ । सबैलाई माघ २० बाट प्रदर्शन हुने हाम्रो सिनेमा हेर्न आग्रह गर्दछु ।’
कलाकार जितु नेपालले हाँस्यव्यङ्ग्य कथावस्तुमा आधारित सिनेमामा आफ्नो भूमिकालाई दर्शकले फरक तरिकाले हेर्न पाउने बताए । उनका अनुसार ‘ह्यारी की प्यारी’ मा कमेडी पनि फरकधारको कमेडी छ । जसमा पात्र भन्दा पनि वातावरणले दर्शकलाई हसाउँछ । उनले सिनेमाको कथावस्तुको टेस्ट बदल्न खोजेको अभिव्यक्ति दिए ।
पर्वतको भुकदेउरालीमा ४५ दिनसम्म छायाँकन गरिएको सिनेमामा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुती सिनेमाको कथा सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यु निराबी र डा.कपिल रिजालले लेखका हुन् ।
सिनेमाका गीतमा थोमस एण्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपन कुमार राईको स्वर रहेको छ ।