काठमाडौं । विगत दुई दशकदेखि मौलिक गीत संगीतमा सक्रिय गायक रामकुमार (आरके) गुरुङले यो पटक भने दर्शक स्रोताहरुका लागि केही फरक शैलीको गीत प्रस्तुत गरेका छन् ।
वि.सं २०६१ सालमा 'माइली रोधींघरमा सँगै नाचौला' कौरा मौलिक गीतबाट सांगीतिक यात्रा सुरु गरेका आरकेले नयाँ कोसेली लोकदोहोरी गीत 'घर त गैरी गाउँ' ल्याएका छन् । जुन गीतमा धेरै मिठो स्वर, शब्द र लयका धनी गायक मनोज केसीसँग सहकार्य छ उनको । गायकद्वयले लगभग १५ वर्षअघि देखि सँगसँगै सांगीतिक यात्रा गर्दै आएका छन् ।
उनीहरुले 'हेर्दैमा राम्रो बागलुङै बजार' (सालैजो), 'बज्यो मादल मायाको गाउँमा' (झ्याउरे), 'गल्कोटै गाउँको' (सालैजो), 'माइली रोधींघरमा' (रि-मेक), 'ज्ञानी माया' (पञ्चेबाजा) र 'बस है माया' (सालैजो) जस्ता मीठा मीठा मौलिक भाकाहरु दर्शक स्रोतामाझ पस्किसकेका छन् ।
"घर त गैरी गाउँ" जुन गीतमा मनोज केसी र अस्मिता अधिकारीको मीठो आवाज छ । गायकद्वयले शब्द रचना पनि निक्कै घतलाग्दो छन्द मिलेको रमाइला शब्दहरुको संकलन गरेका छन् भने मिठास लय सुन्न पाइन्छ । यो गीतको सम्पूर्ण रेकर्डिङ कार्य अहिलेको आधुनिक सिस्टम रहेको १ डिबि एच डि स्टुडियोमा गरिएको छ । जसमा एचबीएन किस्मतले संगीत समियोजन र मिक्सिङ गरेका छन् ।
उक्त गीतको भिडियोमा अहिलेको जल्दोबल्दो र अनुभवी निर्देशक दीपेन्द्र तिमल्सिनाले सुन्दर कोरियोग्राफसहित गीतको भावपूर्ण निर्देशन गरेका छन् । चर्चित कलाकारहरु गणेशमान घले, रमेश थापा, जुना सुन्दास र आयुस्मा कार्कीले रोचक नाचसँगै ओजन्दार अभिनय गरेका छन् । करिब ९ मिनेट समयको म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुङ्जको ढाप ताल र प्रकृति रिसोर्टमा छायांकन गरिएको छ । जसमा निकै मिहिनेती र धेरै ब्यस्त छायाँकार नवराज उप्रेतीले गरेका छन् भने कुशल सम्पादक विष्णुहरि तिमल्सिनाले सुन्दर भिडियो सम्पादन गरेका छन् ।