पोखरा । पोखरास्थित सहारा बाल आधारभूत विद्यालयले सहारा यूके, सहारा क्लब हङकङ र सहारा अस्ट्रेलिया तथा तमु धीं यूकेका पदाधिकारीलाई आइतबार स्वागत गरेको छ ।
विद्यालयका अध्यक्ष विक्रम थकाली, प्रधानाध्यापक लोचना अधिकारी र पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ (खम) र अस्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलसहितको टोलीलाई विद्यालयमा स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रधानाध्यापक अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । सो क्रममा टोलीले विद्यालयलाई नगद सहयोगसमेत गरेको थियो । सहारा अस्ट्रेलियाका पौडेलले विद्यालयको न्यानो आतिथ्यप्रति धन्यवाद व्यक्त गरे । फुटबलको माध्यमबाट विश्वमाझ परिचित सहारा क्लबको शाखाको जिम्मेवारीले आफूलाई अझ खेलक्षेत्रमा काम गर्ने प्रेरणा उनको भनाइ थियो ।
-1771775019.jpg)
हङकङका अध्यक्ष गुरुङले विद्यालयले विक्रम थकालीको नेतृत्वमा प्रगति गरेको देख्दा खुशी व्यक्त गरे । तमु धीं यूकेका उपाध्यक्ष गुरुङले आगामी दिनमा विद्यालयलाई सहयोग गर्ने इच्छा रहेको बताए । विद्यालयको अवस्थाबारे आफ्नो समितिमा छलफल गर्नेसमेत उनले प्रतिबद्धता जनाए । तमु धीं जातीय संस्था नभई सामाजिक संस्था भएको उनको भनाइ थियो ।
विद्यालयका अध्यक्ष थकालीमार्फत सहारा यूके र सहारा क्लब पोखरासँग सम्बन्ध स्थापित भएको बताउँदै उपाध्यक्ष गुरुङले विद्यालयसँग पनि उनकै समन्वयमा जोडिएको बताए । सहारा यूकेका अध्यक्ष गुरुङले विद्यालयमा दिवा छात्रावास सञ्चालन गरेकोमा वडालाई धन्यवाद दिए । गत वर्ष सहारा यूकेले विद्यालयमा ३ लाख रुपैयाँ बराबरको पुस्तकालय स्थापना गरिदिएको थियो ।
वडाध्यक्ष मर्सानीले विदेशमा बस्ने नेपालीहरूले देशको माया गरेर विभिन्न कार्यक्रम लिएर आएका अतिथिहरूलाई विद्यालयमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नवनिर्वाचित तीनवटै क्लबका पदाधिकारीलाई उनले सफल कार्यकालको शुभकामना व्यक्त गरे । विद्यालयको अभिभावकीय संस्था स्थानीय तह भएको हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वडा सदैव साथमा रहेको वडाध्यक्ष मर्सानीको भनाइ थियो ।

कार्यक्रमका क्रममा कार्यक्रममा उपस्थित सहारा यूके, तमु धीं यूके पदाधिकारीहरू शारदा गुरुङ, कृष्ण गुरुङ (कृष), ल्याप्टेन कुसाङ गुरुङ, महेश गुरुङ, क्याप्टेन पिताम्वर गुरुङ, हरि कुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, वाचस्पति रेग्मी, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महेन्द्र गुरुङलगायतले विद्यालयलाई नगद ५५ हजार रुपैयाँ प्रदान गरेका थिए । सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम)ले विद्यालयलाई ५१ हजार रुपैया प्रदान गर्ने घोषणा गरेका थिए ।
विद्यालयका अध्यक्ष विक्रम थकालीले निमन्त्रणा स्विकारेर उपस्थित सबैलाई धन्यवाद दिएका थिए । शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहारा यूके, हङकङ, अस्ट्रेलियाका अध्यक्ष तथा पदाधिकारी, सहारा क्लबका अध्यक्ष तथा पदाधिकारी, तमु धीं यूकेका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सल्लाहकारलगायत उपस्थित थिए ।