काठमाडौँ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङसहित चार जनालाई सम्मान गरेको छ ।
नेपाल भ्रमणमा रहेका संस्थापक अध्यक्ष चित्रबहादुर, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, तमु धीं युके आमा समूहकी वरिष्ठ उपाध्यक्ष नन्दा गुरुङ तथा गोर्खा जिल्ला तमु समाज युकेका अध्यक्ष टेकमान गुरुङलाई परिषद्को केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिएको हो । परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतबाट आएका अतिथिहरूलाई खादा तथा फेटा ओढाएर स्वागत गरिएको थियो।

सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु समाज युकेको स्थापनाकालीन संघर्ष र वर्तमान गतिविधिबारे प्रकाश पारे । उनले प्रारम्भिक चरणमा नेपालबाट बेलायत बसाइँ सरेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई सहयोग गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार हाल तमु समाज युकेले बेलायतमा मृत्यु भएका नेपालीहरूको पार्थिव शरीर नेपाल पठाउने कार्यदेखि नेपालमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपद्का समयमा निरन्तर सहयोग पुर्याउँदै आएको छ । साथै, बेलायतमा तमु तथा नेपाली धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने कार्यलाई संस्थाले उच्च प्राथमिकतामा राख्दै आएको पनि उनले उल्लेख गरे ।
आफू र आफ्नो टोलीलाई गरिएको आत्मीय सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै उनले अध्यक्ष धनमान गुरुङ, सम्पूर्ण कार्यसमिति तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा तमु समाज युके र तमु ह्युल छोंज धीं बीचको सम्बन्ध अझ सुमधुर, सुदृढ र सहकार्यपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण तमु समुदायबीच एकता कायम रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले गरेका थिए । कार्यक्रममा परिषद्का उपाध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न क्षेत्रका तमु व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
