पोखरा । गोर्खा मिडिया लिमिडेट अन्तर्गतको गोर्खा मिडिया डटकमले पत्रकार सिताराम गुरागाईं र जुना थापालाई सोमबार पोखरामा सम्मान गरेको छ ।
यूकेबाट सञ्चालनमा रहेको गोर्खा मिडियाको पाँचौं वार्षिकोत्सवको अवसरमा घोषित सम्मान पत्रकारद्वय गुरागाईं र थापालाई सोमबार प्रदान गरिएको हो । उनीहरुलाई तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
मिडियाले गत सेप्टेम्बर १४ तारिखमा यूकेमा आफ्नो वार्षिकोत्सव मनाइसकेको छ । उक्त समयमा बाँकी रहेको सम्मान मिडियाका प्रबन्ध निर्देशक मिलन तमु नेपाल आएको बखत प्रदान गरिएको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले गोर्खा मिडियाले यूकेमा बस्ने नेपालीहरुलाई सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताए । ‘गोर्खा मिडियाका सञ्चालनक मिलन गुरुङ पल्टनमा हुँदा देखि नै फोटो खिच्न अब्बल थिए । रिटायर्ड भएपछि त्यसैलाई निरन्तरता दिएका छन्,’ उनले भने, ‘उनकै कारण हामीले छिटो सूचना पाएका हुन्छौं । उनले आफ्नो मिडियामा कार्यरत पत्रकारहरुलाई सम्मान गरेर अझै उल्लेखनीय काम गरेका छन् ।’
गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले २१ औं शताब्दीमा मिडियाले परिवर्तनको संवाहकको भूमिका खेलिरहेको बताए । त्यसमा यूकेबाट सञ्चालन भएको गोरखा मिडियाले एउटा इट्टा थप्ने काम गरेको उनले सुनाए ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङले नेपालबाट समाचार सम्पादनमा गुरागाईं र समाचार वाचिकाका रुपमा थापाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिए । आगामी दिनमा पनि ‘सूचना र सामाजिक सेवा सँगसँगै’ मूल नारालाई आत्मसात गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो । सेवानिवृत्त गोर्खा, फोटो पत्रकार तथा समाजसेवी मिलन तमुको एकल स्वामित्वमा सुरु गरिएको यो समाचार संस्थाले विभिन्न कठिनाइका बाबजुद अविच्छिन्न यात्रामा अघि बढिरहेको छ ।




