लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके, हङकङ र नेपाल १५ फेब्रुअरी २०२६ मा ल्वाङगाउँ भ्रमणमा जाने भएका छन् ।
पर्यटन प्रवर्द्धन र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले बेलायत, हङकङ र नेपालमा रहेका क्वोंने गुरुङले ल्वाङगाउँ भ्रमणमा गर्न लागेका हुन् । भ्रमणका लागि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङसहित दाजुभाइ, दिदीबहिनीहरु नेपाल पुगिसकेका छन् ।
नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित कास्की जिल्लाको ल्वाङगाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामुदायिक एकताको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ । माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित यस गाउँले हिमाल, हरियाली डाँडाकाँडा तथा गुरुङ (तमु) समुदायको संस्कार र जीवनशैलीलाई एकै साथ अनुभूति गराउँछ ।
विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, गाउँप्रतिको उत्तरदायित्व र संस्कृतिप्रतिको सम्मानका कारण प्रत्येक वर्ष देश विदेशबाट हजारौं पाहुना तथा विभिन्न संस्थाहरू ल्वाङ गाउँ भ्रमणका लागि आउने गरेका छन् । ल्वाङगाउँ सामुदायिक होमस्टे कार्यक्रमका कारण पनि विशेष रूपमा चर्चित छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले परम्परागत गुरुङ परिकार, सांस्कृतिक नृत्य, स्थानीय जीवनशैली र आत्मीय आतिथ्यको प्रत्यक्ष अनुभव गर्न पाउँछन् । होमस्टे कार्यक्रमले स्थानीय बासिन्दालाई रोजगारीको अवसर, आत्मनिर्भरता र गाउँमै बस्न प्रेरणा प्रदान गरेको छ । यस प्रकारका कार्यक्रम र भ्रमणहरूले गाउँमा पर्यटन विकास मात्र होइन, सांस्कृतिक संरक्षण, युवा पुस्तामा पहिचानप्रतिको चेतना र अन्तर्राष्ट्रिय स्तरमा ल्वाङ गाउँको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
“हाम्रो लक्ष्य गाउँ–गाउँमा पर्यटन विकास र प्रवर्द्धन गरौँ” भन्ने नाराले ल्वाङको भविष्यलाई अझ उज्यालो बनाउने विश्वास दिलाउँछ। ल्वाङगाउँ केवल भ्रमण गर्ने स्थान मात्र नभई शान्ति, अपनत्व र नेपाली पहिचान अनुभूति गर्ने गन्तव्य हो । प्रकृतिको काखमा संस्कृति जोगाउँदै निरन्तर अघि बढिरहेको ल्वाङ आजको नेपालका लागि प्रेरणाको स्रोत बनेको छ ।
गत वर्ष सहारा यूकेको सहयोगमा माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङगाउँमा निर्माण गरिएको बोर्ड उद्घाटन गरिएको थियो । 'ल्वाङ भिलेज' बोर्डको एक समारोहबीच तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले रिबन काटेर उद्घाटन गरेका थिए । उक्त बोर्ड सहारा यूकेको नेतृत्वमा संकलित रकमबाट सन् २०२४ मा निर्माण गरिएको हो । जसको समन्वय ल्वाङ गाउँ होम स्टे समितिले गरेको थियो ।
