पोखरा । एकल गुरुङ (गीत) नृत्य प्रतियोगितामा रुपन्देहीकी एशिका गुरुङ प्रथम भएकी छन् ।
स्टार्स फाउन्डशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार जिरो किमि, पोखरास्थित न्यु एरा एन्ड पार्टी प्यालेसको सभाहलमा भएको ग्रान्ड फिनालेमा एशिका प्रथम, पाल्पाका सन्तोष मगर द्वितीय र कास्कीकी श्रव्या गुरुङ तृतीय हुन सफल भए । प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी एशिकाले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी हात पारिन् भने द्वितीय भएका सन्तोषले नगद २० हजार र तृतीय स्थान ओगट्न सफल श्रव्याले नगद १० हजार राशिको पुरस्कार साथै प्रमाणपत्र तथा ट्रफी पाएका छन् ।
पुरस्कार सभापति, प्रमुख अतिथि, विशेष अतिथि साथै पुरस्कार प्रयोजकले क्रमशः प्रथमको गोर्खा मिडिया (मिलन तमु), दोस्रो ओमेन्द्र गुरुङ, बेलायत (प्रतिनिधि : श्रीप्रसाद गुरुङ), तेस्रो सेभेन सिस्टर (प्रतिनिधि: कमला गुरुङ)ले वितरण गरेका थिए । त्यसैगरी, उत्कृष्ट भेषभुषा-मोनिका मगर (हेमजा), उत्कृष्ट अनुशासन- सुमित्रा लामा ह्योल्मो (लमजुङ), उत्कृष्ट कोरियोग्राफी- मनकाशी गुरुङ (लमजुङ), उत्कृष्ट इनर्जी-आयुष्मा नेपाली (एसओएस बहिनी), उत्कृष्ट ट्यालेन्ट - रीतिका गुरुङ (पोखरा), उत्कृष्ट इन्टरटेनर - अर्चना गुरुङ (पोखरा), उत्कृष्ट एक्स्प्रेसन- रितिशा गुरुङ (स्याङ्जा), उत्कृष्ट स्टेप - सुयान्सा गुरुङ (पोखरा), उत्कृष्ट पर्फमर - स्नेह गुरुङ (हेमजा), उत्कृष्ट जेनिशा गुरुङ (हिमाली बाल संरक्षण मञ्च), उत्कृष्ट टेक्निक - जस्मिन गुरुङ (पोखरा) , उत्कृष्ट क्रियटिभ - बाबु गुरुङ ( स्याङ्जा)ले हात पार्न सफल भएका थिए ।
पुरस्कार सभापति, प्रमुख अतिथि सांसद वेदबहादुर गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पद्मराज ढकाल तमुधिं यूके अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हित काजी गुरुङले प्रदान गरेका थिए ।
काठमाडौंबाट मनाङ गुरुङ, रुपन्देहीबाट कृष्ण कुमारी घले र पोखराबाट राजबहादुर गुरुङ निर्णायक रहेको ग्रान्ड फिनालेमा कास्की, लमजुङ, स्याङ्जा, पाल्पा र रुपन्देही जिल्लाबाट प्रतियोगीहरुले भाग लिएका थिए ।
तमु ल्होसार/ल्होछारको उपलक्ष्यमा गुरुङ भाषाको गीत संगीत संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको गुरुङ भाषाको गीतमा, सबै जाति, सबै उमेर समूहले नाच्न पाउने उक्त प्रतियोगितामा सुरुमा ५३ जना अनलाइन सहभागिता थियो । सोमध्ये टप १५ जनालाईमात्रै अन्तिम प्रतिस्पर्धामा लगिएको थियो ।
सोही कार्यक्रममा बेलायतबाट नेपाल भ्रमण आएका तमुधिं युकेका अध्यक्ष हरि गुरुङ साथै सम्पूर्ण कार्यसमितिहरुलाई माला, गुरुङपन दिने, गलबन्दी, भाङ्ग्र, क्रमु अनि श्यामा घलेकले स्वागत/सम्मान प्रदान गरिएको थियो ।
नेपाली कला, भाषा, संगीत, साहित्य, संस्कार संस्कृतिमा योग्दान पुर्याउने विशेष व्यक्तित्वहरुलाई प्रधान गरिने सम्मान "स्व. तिलमाया गुरुङ स्मृति सम्मान पुरस्कार २०७९" यस वर्ष भने लामो समयबाट भाषा, संस्कृति, साहित्य तथा गीतकार एकेन्द्र गुरुङलाई दिइएको छ । १० हजार ५० राशिको उक्त पुरस्कारसहित दोसल्ला, सम्मानपत्र प्रमुख अतिथि, सभापति जसु गुरुङलगायत उनको परिवारले बेलायत निवासी स्रष्टा गुरुङलाई प्रदान गरेको थियो । गुरुङ नेपाल भ्रमणको संयोगमा उक्त पुरस्कार प्रत्यक्ष सहभागितामा दिइएको हो ।
उक्त पुरस्कार स्टार्स स्टुडियोकी प्रबन्धक एवम् स्टार्स फाउन्डेशन नेपालकी अध्यक्ष जसु गुरुङले सदैव आफ्नो प्रेरणाको श्रोत आमाको सम्झनामा आमालाई जिवन्त राख्न स्थापना गरेकी हुन् ।
यस्तै सामाजिक सेवामा अमूल्य योगदान पुर्याएबापत "स्टार्स समाजसेवा पुरस्कार-२०७९" छोटो समयमा नै सामाजिक सञ्जालबाट जिउँदो देवीको नाम पाएकी, प्रेरणात्मक, युवा समाजसेवी गिभिना मगरलाई दोसल्ला ओढाई, सम्मान पत्रका साथै नगद १० हजार ५०। - प्रदान गरिएको थियो । संस्थाद्वारा सम्मानितद्वयको छोटो बायोग्राफी भिडियो प्रोजेक्टरमार्फत देखाइएको थियो ।
अतिथि कलाकार, गायनमा उषा गुरुङ र राजबहादुर गुरुङले उपस्थित सबैलाई झुमाएका थिए भने एकमात्रै खुट्टा भएको फरक क्षमताकी धनी अन्जना गुरुङको नृत्य, स्टार्स सिंगल डान्स प्रतियोगिता-२०७७ कि उपविजेता ओशिका गुरुङ र विजेता जमुना गुरुङको नृत्य प्रस्तुति रहेको थियो ।
पोखराका विभिन्न विद्यालय, व्यवसाय, पत्रकार तथा संघ संस्थाकाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा, कार्यक्रम उद्देश्य, स्वागत एवम् धन्यवाद सभापति जसु गुरुङ, शुभकामना मन्तव्य गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची तथा तमुधिं युकेका अध्यक्ष हरि गुरुङले राखेका थिए । कार्यक्रम सञ्चालनको भूमिका रेडियो नेपालकी कुशल कार्यक्रम संचालिका शान्ति गुरुङले गरेकी थिइन् ।