काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पुर्याइएकोमा उपचारको क्रममा निधन भएको हो ।
उनको निधनपछि थुप्रै आफन्त र कला क्षेत्रका मानिसमा अस्पतालमै जम्मा भएका छन्। थापाका छोराहरू भारतमा रहेकाले फर्किने तरखरमा रहेको बताइएको छ।
उनलाई नेपाली फिल्म क्षेत्रमा ‘राँते काइला’को उपनामले पनि चिनिन्छ । यो नाम उनले चलचित्र ‘चिनो’बाट पाएका थिए। थापाले पछिल्लो समय अभिनय गरेको नेपाली फिल्म ‘एक्लो’ हो।
उनले नेपाली फिल्महरुमा गोर्खा पल्टन, शिकारी, शिकारी २, पापी मान्छे, पापी मान्छे २, अल्झेछ क्यारे पछ्यौरी, देवर बाबू, कर्म योद्दा लगायतमा पनि अभिनय गरेका छन्।
त्यस्तै हास्य टेली शृङ्खला मेरी बास्सै, क्याप्टेन लगायतमा पनि काम गरेका थिए। थापाले अभिनय गरेका धेरैजसो नेपाली फिल्ममा भने खलनायकको भूमिका निर्वाह गरेका छन्।
नेपालमा मात्रै नभएर उनले बलिउडमा समेत काम गरेर चर्चा कमाएका थिए। उनले संजय लिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा समेत काम गरेका थिए। यसमा काम गरेपछि उनको बलिउडमा समेत चर्चा भएको थियो ।
उसो त थापाले बलिउडबाटै फिल्म करिअर सुरु गरेका थिए । उनले अभिनय गरेका अन्य हिन्दी फिल्महरूमा एक दुजे के लिए, मानव हत्या, आजकी आवाज, मनु द ग्रे, अल्बेला, नासिबवाला लगायत छन् । सन् १९५७ मा जन्मिएका थापा एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष समेत हुन् ।