हेटौँडा । लोकरक ब्यान्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौँडाबाट भव्यतापूर्वक अघि बढाएको छ । यात्राको पहिलो ध्वनि बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा गुन्जिँदा हजारौँको संख्यामा उपस्थित दर्शक श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए ।
केही समययता ब्यान्डले नियमित प्रस्तुत गर्दै आएको गीत क्रममा परिवर्तन गर्दै ‘हो रामा रामा’ बाट कन्सर्टको थालनी गरिएको थियो । अघिल्ला प्रस्तुतिहरूमा मध्य क्रममा रहने गरेको यो गीतले सुरुदेखि नै मैदानलाई गतिशील तुल्याएको देखिन्थ्यो । त्यसपछि ‘भेडाको ऊन’ र ‘छेक्यो छेक्यो’ हुँदै कन्सर्ट अघि बढेको थियो ।
कार्यक्रमस्थलमा दर्शकहरूको अग्रपंक्तिमै रहेकी मान्यता सापकोटा यस्तो सांगीतिक कार्यक्रमले सहरै रमाइलो पार्ने बताइरहेकी थिइन् । उनका अनुसार नेपथ्यको कन्सर्ट चाहिँ छुटाउने गरेकी छैनन् ।
‘चार वर्षअघि हेटौँडामा नेपथ्य उपस्थित हुँदा म बुवाको साथ आएकी थिएँ,’ स्थानीय कृष्ण मन्दिर छेवैमा घर भएकी स्नातक प्रथम वर्षकी विद्यार्थी मान्यताले भनिन्, ‘त्यतिबेला ढिलो आएकोले धेरै गीत छुटेकै कारण यसपाला समयमै मैदानमा प्रवेश गरेँ र अगाडिकै लहरमा ठाउँ पाएँ ।’
साथी श्रीना ढुंगेल र बहिनीहरूलाई पनि साथमा लिएर आएकी मान्यता कन्सर्टमा सुरुदेखि अन्तिमसम्मै नृत्यरत देखिन्थिन् । यसरी नाच्नेहरूको लहर बढ्दै गएर मैदानको अन्तिम घेरामा बर्दीसहित खटिएका प्रहरीहरूमा समेत विस्तार भइरहेको देखिन्थ्यो । तिनैमध्ये महिला प्रहरीहरूको टोलीलाई कमान्ड गरिरहेकी लालुमाया गुरुङ पनि थिइन् ।
जिल्ला प्रहरी कार्यालयकी हवलदार उनलाई नजिकै गएर ‘निकै रमाउनु भएको देखियो त?’ भनेर प्रश्न गर्दा एकछिन अकमकिइन् । उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘हामी मानिस हौं र हाम्रो मन पनि यस्तो बेलामा रमाउँछ नि!’
यस्ता कार्यक्रमहरूमा सुरक्षार्थ धेरैपटक खटिसकेको बताउने लालुमायाले अमृत गुरुङ आफूलाई सबैभन्दा मनपर्ने गायक रहेको जानकारी दिइन् । ‘आफू गुरुङ भएकैले भनेको होइन है,’ उनले अन्यथा अर्थ नलागोस् भन्दै प्रष्ट पारिन्, ‘म त धेरै पर सुर्खेतको मान्छे पो हुँ ।’
उनले कर्णाली भेगको दुःख र त्यसकै बीच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुसी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरुरी रहेको औँल्याउँदै भर्खरै तयार पारेको गीत ‘कर्नालीका छाइला’ पनि सुनाए ।
‘यो संसारमा थोरै राम्रा मानिसको मानवीयताले गर्दा धेरै मानिसले बाँच्ने मौका पाइरहेका छन्,’ अमृतले दर्शकहरूलाई अनुरोध गर्दै भने, ‘तपाईंहरूको छेउछाउमा स्कुल जान नपाएका बालबालिका छन् भने उनीहरूलाई शिक्षाको उज्यालोसम्म नजिक्याएर पुण्य कमाउन नछुटाउनुस् है ।’
यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाइएको थियो । कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा हेटौँडाको भुटनदेवी स्कुल मैदानमा भरिएका अधिकांश दर्शकहरूले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर ‘रेसम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । ‘हेटौँडाले फेरि एकपटक आफूलाई नेपथ्यप्रेमी साबित गरेको छ,’ आयोजक समूह रमाइलो इभेन्ट्सका शिवम् शर्मा भन्दै थिए, ‘कार्यक्रम भव्य मात्र नभई व्यवस्थित तवरले सम्पन्न गर्न पाएकोमा सबैलाई धन्यवाद दिन्छौं ।’
गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीको परिचय गराएका थिए ।
हेटौँडाको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली बुटवल हिँडिसकेको छ । त्यहाँस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगर’ परिसरमा माघ २४ गते शनिबार ब्यान्डको प्रस्तुति रहनेछ । त्यसपछिको यात्रा क्रमशः नारायणघाट र बन्दीपुरतर्फको हुनेछ ।