लन्डन । नेपाली गीत–संगीत, संस्कृतिसँग अन्तर्मनले जोडिएका प्रवासी नेपालीहरूको चाहना र ऊर्जालाई सम्मान गर्दै युकेमा एक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ।
यही डिसेम्बर १२ (शुक्रबार)का दिन युकेको सिमोन चर्चमा चर्चित कलाकारहरु प्रिती आलेमगर र सागर आलेमगरको प्रस्तुतिसहित सांगीतिक कार्यक्रम हुन लागेको हो । दुवै कलाकार यूकेको ठूलो नेपाली समुदायबीच चिनिएका प्रतिभा हुन्। विश्वभर रहेका नेपाली मन मुटुमा बस्न सफल यी कलाकारले हजारौँ दर्शकलाई नचाउने, रमाइलो गराउने र अविस्मरणीय सांगीतिक यात्रा दिने तयारी पूरा गरिसकेको जनाएका छन् । कार्यक्रम साँझ ५ देखि राति ११ बजेसम्म सञ्चालन हुने छ ।
उक्त कार्यक्रमको मुख्य आयोजना यूकेमै लामो समयदेखि बसोबास गर्दै आएका दुई उत्साही सांस्कृतिक अभियन्ता फिबा राई र कविता राईले गरेका हुन् । उनीहरुले सांगीतिक माहोल, नृत्य, उत्साह र मनोरञ्जनको सम्मिश्रण रहने कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
नेपाली कला, कलाकार र संस्कृतिप्रति गहिरो रुचि राख्ने यी दुई दिदीबहिनीले नेपाली कलाकारलाई सम्मानसहित उनीहरूका उत्कृष्ट प्रस्तुति यूकेवासी नेपालीसमक्ष पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
प्रवासमै बसेर नेपाली भाषा, कला र संस्कृतिको रक्षा–प्रवर्द्धन गरिरहेको नेपाली समुदायलाई यस्ता कार्यक्रमहरूले अझै एकजुट गराउने आयोजक फिबा राई र कविता राईको विश्वास छ।
कार्यक्रममा उपस्थित हुन यूकेमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई निमन्त्रणा गरिएको छ ।