पोखराको बीपीमार्गमा जन्मिएकी हुन् सलोमी गुरुङ । हाल चाउथेमा बस्ने २४ वर्षीया सलोमीलाई सानैदेखि गायनमा रुचि थियो । विद्यालयमा भविष्यमा के बन्छौ भनेर सोध्दा अरुले डाक्टर, नर्स र इन्जिनियर बन्छु भन्थे । तर, सलोमी भने सानैदेखि भविष्यमा सिंगर बन्छु भनेर सुनाउँथिन्।
सानैबाट संगीततर्फ ढल्किएकी सलोमी होमवर्कभन्दा पनि गीत गाउनमै चासो राख्थिन्। उनको संगीतप्रतिको लगाव देखेर घरपरिवारले पनि सलोमीलाई गीत गाउन पठाउनुपर्छ भन्थे। परिवारमा पनि सांगीतिक माहोल भएकाले झन संगीतप्रति रुचि जागेको सुनाउँछिन् उनी ।
‘परिवारमा सबैजना गाउन मन पराउनुहुन्छ। बुवाआमा गीत गाउनुहुन्छ। फूपुले किबोर्ड बजाउनुहुन्छ। भाइलाई पनि गीत गाउन मन पर्छ। गितार पनि बजाउँछौँ। हाम्रो त घरमै ब्यान्ड बन्छ। त्यो माहोलले झन् इच्छा जाग्यो । सांगीतिक कार्यक्रम आउनेबित्तिकै परिवार र साथीहरूले एकपटक ट्राइ गर न भन्थे,’ उनले सुनाइन् ।
तर, एसएलसी दिएपछि बढी गीत गाउन थालिन् उनी । ‘एसएलसी दिएपछि खाली समयमा बढी गाउन थालेँ । त्यतिखेर भर्खेरै गितार किनेकी थिएँ । त्यतिबेला मोबाइलबाट गीत सुनेर गितार बजाउँदै गीत गाउँथेँ,’ उनी भन्छिन् ।
प्लस टुमा सलोमी व्यवस्थापन संकायमा भर्ना भइन् । प्लस टु सकिन लाग्दा केही काम गर्न मन लाग्यो । त्यसपछि बच्चा मन पराउने सलोमी पोखराकै डिज्नी मन्टेस्वरी एन्ड प्रिस्कुलमा पढाउनसमेत थालिन् । साथै लेकसाइडको रेस्टुरेन्टमा गीत गाउन थालिन् । एज ब्यान्डको प्रोगाममा समेत प्रस्तुति दिएको बताउँछिन् उनी ।
सलोमी पोखरामा भएको सांगीतिक प्रतियोगिता बिग आइकनमा पनि सहभागी भइसकेकी छिन् । जहाँ उनी टप ९ सम्म पुग्न सफल भएकी थिइन् ।
व्यवस्थापनमा प्लस टु गरे पनि पढाउन थालेपछि सलोमीले पुन: शिक्षा संकायमा भर्ना गरिन् । नेपाल आइडलमा आउनुअघि सलोमीले सातवर्ष मन्टेस्वरीमा अध्यापन गराइन् । सबिन राई, सिने गुरुङ, जोन राई, सज्जनराज वैद्य लगायतकाको गीत मन पराउने सलोमी विशेषत सफ्ट पप जनराका गीत गाउन रुचाउँछिन् । उनी नेपाल आइडलको पाँचौं संस्करणमा उपविजेता बनिन् ।
यसअघि केही गीतहरूमा स्वर दिइसकेकी सलोमीलाई आइडलले चर्चित बनाइदिएको छ ।‘आइडलले छोटो समयमै फेम दिएको छ । यसले दर्शकमाझ एकैचोटि माथि पुर्याएको छ । त्यसपछि मिहिनेत कसरी गर्ने भन्ने कुरा हो,’ उनी भन्छिन् । आइडलमा आएपछि आफूले धेरै सिकेको दाबी छ उनको ।
भन्छिन्, ‘पहिले म म्युजिकको ज्ञानबिना गाउँथे भने अहिले धेरैथोरै ज्ञान छ। आइडल आएर नै गुरुबाट धेरै सिक्न पाएँ। बिहानबिहान रियाज हुन्थ्यो। जहाँ कसरी रियाज गर्नेदेखि गीत गाउने तरिका थाहा पाएँ। अहिले म्युजिकलाई अलिकति बुझेकी छु। गीत गाउँदा पनि सजिलो भएको छ ।’
संगीतलाई साथीको रूपमा हेर्ने सलोमीले यसै क्षेत्रमा करिअर बनाउन मन छ। स्नातकमा संगीत विषय लिएर पढ्ने समेत उनको योजना छ ।