लन्डन । बेलायतमा शनिबार १५ नोभेम्बरमा हुने 'दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२५' का लागि नेपालबाट कलाकारहरु बेलायत आइपुगेका छन् ।
इन्फा अवार्ड समारोहका लागि कलाकारहरु प्रदीप खड्का, दीपकराज गिरीदेखि केकी अधिकारी, नीता ढुंगाना, केदारप्रसाद घिमिरे, जितु नेपाल, मिलन चाम्स, महेश त्रिपाठीलगायत शुक्रबार लन्डन उत्रिएका हुन् । अवार्ड समारोह शनिबार साँझ लन्डन ग्रीनफोर्ड टाउन हलमा हुने इन्फा इभेन्ट्स यूकेले जनाएको छ ।
कार्यक्रममा अवार्डस्, सम्मान र पुरस्कार वितरण हुनेछ । यसअघि यो समारोह १३ सेप्टेम्बरका लागि तय गरिए पनि नेपालमा जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
नेपालका ख्यातिप्राप्त कलाकारहरूबाट एउटै स्टेजमा गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत अनेकौं आकर्षक प्रस्तुति रहने समेत इन्फा यूकेले जनाएको छ ।
कार्यक्रममा ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गरेका हुन् । यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने छ ।
दोस्रो इन्फा अवार्ड गर्न बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् ।
नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेश मोक्तानले बताए ।