लन्डन । मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘मगर्स गट ट्यालेन्ट-२०२५’को आठौं संस्करण आगामी ८ नोभेम्बरमा हुने भएको छ । 
उक्त प्रतिभा प्रदर्शन मगर संघ यूके मगर युवाको आयोजनामा लन्डनस्थित स्प्रिङ एकेडेमीमा आयोजना हुने भएको हो । कार्यक्रमका लागि ढोका दिउँसो १२ बजे खुल्नेछ भने मुख्य प्रस्तुति १ देखि ७ बजेसम्म सञ्चालन हुनेछ ।
सहभागिताका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । महासचिव विपना थापाले प्रतिभा दर्ता सुरु भइसकेको र सहभागी संख्या सन्तोषजनक रहेको बताइन् । 
यस वार्षिक प्रतिभा प्रदर्शनको मगर समुदायका युवाहरूको सृजनशीलता, सांस्कृतिक पहिचान र आत्मविश्वास उजागर गर्ने उद्देश्य रहेको अध्यक्ष दीपक थापा (मैथाने मगर) ले बताए । उनले भने, 'मगर्स गट ट्यालेन्ट हाम्रो युवाहरूका लागि प्रेरणादायी मञ्च हो । यसपटक हामी अझ व्यवस्थित र आकर्षक कार्यक्रम ल्याउन उत्साहित छौं ।'
वरिष्ठ उपाध्यक्ष करिश्मा थापाले भनिन्, 'कार्यक्रमले मगर युवाहरूमा आत्मविश्वास र सांस्कृतिक गर्व बढाउनेछ, साथै उनीहरूको प्रतिभालाई व्यापकस्तरमा चिनाउनेछ ।'
यस वर्ष मगर परम्परा, संगीत र नृत्यको विविधता झल्काउने प्रस्तुतिहरू समावेश हुने सांस्कृतिक सचिव दिलु रानाले बताइन् ।मगर्स गट ट्यालेन्ट हरेक वर्ष निरन्तर रुपमा आयोजना हुँदै आएको छ । यो कार्यक्रमले मगर समुदायको सांस्कृतिक क्यालेन्डरमा एक प्रमुख वार्षिक आकर्षणको रूपमा स्थापित भइसकेको आयोजकको दाबी छ । 
कार्यक्रमले परिवार, साथीभाइ र समुदायलाई एउटै मञ्चमा ल्याई संस्कृति, ऊर्जा र मनोरञ्जनको उत्सवका रूपमा मनाउने अवसर प्रदान गर्ने अध्यक्ष मैथाने मगरको भनाइ छ । 
आफ्नो प्रतिभा देखाउने अवसर नछुटाउन आयोजकले आग्रह गरेका छन् । दर्ताका लागि तलको लिंकमा जाने सकिन्छ । https://forms.gle/j5NWsZcPkK7e4Gim9