लन्डन । यूके निवासी युवन गुरुङको जीवनमा आधारित चलचित्र (बायोपिक)'झुपडी’को काठमाडौंमा विशेष प्रदर्शनी गरिएको छ ।
हङकङ, यूके र नेपालका विभिन्न सहरमा निरन्तर प्रशंसा बटुलेर प्रदर्शन सम्पन्न भएको ‘झुपडी’ले कात्तिक १० (२७ अक्टुबर २०२५) मा काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर सिनेमाजका तीनवटै हलमा आयोजित विशेष शो ‘हाउसफुल’का साथ सम्पन्न भएको हो ।
कृष्णकुमार गुरुङ निर्देशित चलचित्र झुपडी पोखरा हाल यूके निवासी युवन गुरुङको जीवन यात्राबाट प्रेरित कथा, मूल परिकल्पना तथा निर्माण स्वयं गुरुङकै सिर्जना छ ।
‘झुपडी’ भकारी इभेन्ट्स प्रालिको व्यानरमा निर्माण भएको हो । कार्यक्रममा तमु ह्युल छोंजधीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, विभिन्न गुरुङ समाजका अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि, अतिथिहरू, कलाकार, शुभेच्छुक तथा व्यापक संख्यामा दर्शकहरूको उपस्थिति रहेकाले चलचित्रप्रतिको सकारात्मक रुचि झनै स्पष्ट रूपमा प्रकट भएको थियो ।

प्रदर्शनीको संयोजन चारभन्ज्याङ तमु समाज, बबिता गुरुङ तथा गल गुरुङले गरेका थिए भने कार्यक्रमको सञ्चालन कृश गुरुङले गरेका थिए ।
सामाजिक यथार्थ, संघर्ष, आशा र जीवन दर्शनको कथालाई भावनात्मक रूपले प्रस्तुत गरिएको उक्त चलचित्रले 'संघर्षबाटै सम्भावनाको कथा जन्मिन्छ' भन्ने सशक्त सन्देश दिन सकेको प्रतिक्रिया दर्शकहरूबाट प्राप्त भएको आयोजकले जनाएको छ ।
शुभेच्छुकहरूको साथ, दर्शकको भरोसा र ‘झुपडी’ टिमको समर्पणले नेपाली जीवनी–आधारित चलचित्रको यात्रामा उक्त कृतिले एउटा उल्लेखनीय अध्याय कोरेको विश्वास व्यक्त गरिएको छ ।