काठमाडौँ । इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स सिजन २ को उपाधि प्रथम गुरुङले जितेका छन् । यस्तै, मेरो डान्स युनिभर्स सिजन २ को विजेता हङकङकी रिस्ता गुरुङ बनिन् ।
भ्वाइसतर्फ सेकेन्ड रनरअप जुनु प्रसाईं र प्रथम रनरअप टोपराज तामाङ तथा डान्सतर्फ सेकेन्ड रनरअप सिकु महर्जन र प्रथम रनरअप अमृता राई बने ।
विजेता तथा उपविजेतालाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे गृहमन्त्री रमेश लेखक सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरे ।
दुवै प्रतियोगिताका विजेताले १/१ करोड पुरस्कार पाएका छन्। उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाएका छन्।
विश्वभरका अडिसनबाट गायनमा १२० र नृत्यमा १२० छनोट गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गराइएको थियो ।
अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हङकङ, थाइल्यान्ड, दुबई, कतार, सिलगुडी, मुम्बई, काठमाडौँ, पोखरा, नेपालगन्ज, बिर्तामोडलगायत ठाउँमा अडिसन भएको थियो ।