काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित गुरुङ भाषाको ‘तमु कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए । कुनै समुदायको अस्थित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षण र पुस्तान्तरणमा विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठानले तमु भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकामा धन्यवाद दिँदै मन्त्री गुरुङले यो पहल सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय हुनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनुको मुख्य उद्देश्य समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु रहेको उल्लेख गरे ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा, संस्कृति, कला र जीवनशैलीको दस्ताबेजीकरण गर्ने कार्य हुँदै आएको बताए । जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले निजामती सेवामा गुरुङ समुदाय न्यून उपस्थिति हुनु चिन्ताको विषय भएको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए । उनले यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये, चार वटा भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएका जानकारी दिए ।
‘तमु कए’ पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपिमा उतार्न चुनौतीपूर्ण भएको अनुभव सुनाइन् । पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका मौलिक कला, संस्कृति समेटिएको उनले जानकारी दिइन् ।