लन्डन । गोर्खा मिडियाको आयोजनामा आगामी ३१ अगस्ट २०२५ मा हुने “A Musical Solo with पवित्र गुरुङ र DMT Band Charity Night” को अन्तिम रिहर्सल १७ अगस्टमा लन्डनस्थित तमु धीं यूकेको मिचेट भवनमा सफलतापूर्वक सम्पन्न भएको छ ।
पहिलो पटक बेलायतमा नेपालबाट आएकी गायिकाले च्यारिटी सोलो कार्यक्रम आयोजना गर्न लागेकी हुन् । पवित्र गुरुङले आफ्नो बाल्यकालको विद्यालय, नुवाकोटको गोल्फु भ्याङज्याङ माध्यमिक विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले यो परोपकारी सांगीतिक कार्यक्रम गर्न लागेकी हुन् ।

कार्यक्रममा स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारा देवी, भक्तराज आचार्य, अरुण थापा जस्ता नेपाली सांगीतिक हस्तीहरूको कालजयी गीतहरू प्रस्तुत गरिनेछ भने केही नयाँ र आधुनिक गीतहरू पनि समावेश गरिने आयोजकले जनाएका छन् । कार्यक्रमको विशेष आकर्षण DMT Band को प्रत्यक्ष संगीत संयोजनमा पवित्र गुरुङको गायन रहनेछ ।
कार्यक्रमको सञ्चालन गोर्खा मिडियाका प्रकाश गुरुङले गर्नेछन् । कार्यक्रम सफल बनाउन गोर्खा मिडिया, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए सेन्ट्रलका सल्लाहकार तथा गोर्खा प्यालेस रेस्टुरेन्टका एमडी सूर्य गुरुङ र ब्यान्डका संस्थापक दिनेश गुरुङ सक्रिय रहेका छन् । करिब एक दर्जन संघसंस्था र व्यवसायीहरूबाट स्पोन्सर प्राप्त हुने भएको छ ।
DMT Band मा दिनेश गुरुङ, मीन गुरुङ, रेसम पचे मगर, कुमार गुरुङ, सोनाहाङ राई, सुशील गुरुङ र सन्तोष राई रहेका छन् ।
नुवाकोट, दुप्चेश्वर गाउँपालिका ४ जन्मेका पवित्र गुरुङ हाल दोस्रोपटक वेलायत भ्रमणमा छिन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीको निमन्त्रणामा आएको यो भ्रमणमा उनले चार दर्जनभन्दा बढी सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छन् ।
-1755493669.jpg)
गुरुङ, नेपाली र हिन्दी गीतहरू सजिलै गाउन सक्ने उनी शास्त्रीय संगीतप्रति विशेष रुचि राख्छिन् ।
"नुमा”, “नैना”, “रीपा”, “उज्यालो”, “क्योँई साँ”, “टुहुरी” र “मुख्या” जस्ता चलचित्रहरूमा पार्श्वगायिकाको रुपमा स्वप दिएर उनीले दर्शक तथा श्रोताको मन जित्न सफल भएकी छिन्।
“क्योँई साँ (तिम्रो याद)” चलचित्र मार्फत डेब्यु गर्दै उनले नयाँ धारको यात्रामा पनि पाइला चालेकी छिन्।
३१ अगस्ट २०२५ मा हुने यस च्यारिटी नाइट कार्यक्रमले नेपाली संगीत, समाजसेवा र प्रवासी नेपालीबीचको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।