लन्डन । तमुधीं लण्डन इकाई आमा समूहले आगामी १६ अगस्ट २०२५ मा तीज मनाउने भएको छ ।
सांस्कृतिक कार्यक्रमसहित लन्डन पोस्ट अफिसमा तीज कार्यक्रम आयोजना गरिएको तमुधीं लण्डन इकाई आमा समूहले जानकारी दिएको छ । कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले प्रस्तुति दिनेछिन् । कार्यक्रममा आवश्यक जानकारीका लागि गुड्डु गुरुङ, देवकला गुरुङ, सिर्जना गुरुङ र विन्दु गुरुङलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
आमा समूहले हरेक वर्ष हिन्दु नेपाली नारीको चाड हरितालिका तीज बनाउँदै आएको छ । यस वर्षको तीज पर्वको मुख्य दिन २६ अगस्ट (भदौ १०) मा परेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका (तीज) पर्व मनाइन्छ । यो पर्व नेपालमा मनाइने भए पनि पछिल्लो समय नेपालीहरुको बसोबास विदेशमा पनि बाक्लिँदै गएकोले बाहिर देशमा पनि तीजको विस्तार हुँदै आएको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले बुधबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई व्रतका लागि पूर्व तयारीसमेत गर्छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।