लन्डन । तो–ल्हो (बाघ वर्ग) को बिदाई र हि–ल्हो (बिरालु वर्ग) को आगमनको अवसरमा केन्टवासी गुरुङहरुले ल्होसार मनाएका छन् ।
हकिङ्जका मेयर फिलिप मार्टिनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा सेकेण्ड रोयल गोर्खा राइफल्सका गोर्खा मेजर सन्जिप राई एमभीओ र उनकी धर्मपत्नी धना राईको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई आठौं कार्यसमिति र सल्लाहकारहरुद्वारा स्वागत गरिएको थियो । उपस्थित पाहुनाहरुलाई गुरुङहरुको प्रचलनअनुसार रोटी र तीन पाने रक्सीले भव्य स्वागत गरिएको थियो ।
गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष कप्तान डोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समाजका अध्यक्ष र विशेष अतिथिले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । समाजका सचिव कुमार गुरुङले हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी दिएपछि औपचारिक कार्यक्रम संचालन समाजका महासचिव तोरण गुरुङले गरेका थिए भने समाजका वरिष्ठ उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
त्यसैगरी, औपचारिक कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई समाजका अध्यक्ष कप्तान डोलबहादुर गुरुङले धन्यवादसहित हि–ल्होसारको शुभकामना दिए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई पनि सम्मान गरियो । प्रत्येक वर्षझैं यस वर्ष पनि जिसिएसईमा सबैभन्दा राम्रो अंक ल्याउने तमु विद्यार्थी विनिता गुरुङलाई 'ब्राइट फ्युचर अवार्ड २०२२'ले सम्मान गरिएको थियो । समाजका अध्यक्ष कप्तान डोलबहादुर गुरुङ र अवार्ड प्रायोजक तारादेवी गुरुङले अवार्डसहित १०१ पाउन्ड प्रदान गरी समाजको तर्फबाट बधाई तथा शुभकामना दिए । गुरुङ सोसाइटी केन्ट यूकेले सन् २०११ सालमा सुरूवात गरेको अवार्ड विजेताहरु हालसम्म सबैले राम्रो नमुना देखाएका छन् ।
त्यसैगरी विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष उत्कृष्ट समाजसेवा सम्मानपत्र २०२२ बाट समाजका पूर्वकोषाध्यक्ष भीमप्रसाद गुरुङ सम्मानित भए । समाजका अध्यक्षले औपचारिकरुपमा खादा र सम्मानपत्र दिएर बधाई थिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक इन्द्र गुरुङ, उमा गुरुङ र डा. सुदीक्षा गुरुङले संचालन गरेका थिए । सांस्कृतिक कार्यक्रममा समाजका दाजुभाइ तथा दिदीबहिनी साथै छोराछोरीहरुले नेपाली तथा गुरुङ उत्कृष्ट नृत्यहरु प्रस्तुत गरे । युवा युवतीहरुको बाक्लो उपस्थिति भएको सो कार्यक्रममा युवा युवतीहरुबाटै सुन्दर गुरुङ र नेपाली नृत्यहरुका साथै नेपालदेखि बेलायत आएकी चर्चित लोक तथा दोहोरी गायिका रुपा घर्तीमगर र मनसुधन थापा मगरले भरपूर मनोरञ्जन दिलाए ।
कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र उनको टिमले राफल ड्र संचालन गरेको थियो । पहिलो पुरस्कार आधा तोला सुन समाजको तर्फदेखि, दोस्रो पुरस्कार अस्मी ज्वेलर्स आसफोर्डले चन्द्रमा चिम्टी गोल्डका साथै समाजले विभिन्न आकर्षक पुरस्कारहरू राखेका थिए ।
ल्होसार कार्यक्रमलाई सुनमा सुगन्ध थपी सुन्दर नृत्यहरु प्रस्तुत गरी उपस्थित सबैलाई भरपूर मनोरञ्जन दिएकोमा समाजको तर्फबाट अध्यक्ष कप्तान डोलबहादुर गुरुङले सबै कलाकारहरुलाई धन्यवाद दिँदै सम्झनास्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तमा सबैले नाचेर भरपूर मनोरञ्जन लिएका थिए भने खाना ब्यवस्थापनमा गोर्खा भान्सा घर, डिजेमा बिसी राई र भिडियोग्राफरमा नयन्द्र राईले भूमिका खेलेका थिए ।