बेलायत । बेलायतस्थित ग्रेटर रसम्मर नेपाली कम्युनिटी (जीआरएनसी) ले नेसनल लोटरीमार्फत ५ लाख पाउन्डको महत्त्वपूर्ण कोष प्राप्त गरेको खुसियालीमा उत्सव मनाएको छ। आइतबार, १ नोभेम्बरका दिन अल्डरसट सहरमा रहेको आफ्नै कार्यालयमा केक काटेर संस्थाले यो उपलब्धि साटासाट गरेको हो। संस्थाको चौमासिक बैठकका अवसरमा अध्यक्ष लिला सेलिङ माबो र सिनियर प्रोजेक्ट म्यानेजर सुशीला थापा मगरले उक्त लोटरी फन्डबारे विस्तृत जानकारी गराए।
अध्यक्ष माबोको अध्यक्षता तथा महासचिव सुनिल राना मगरको सञ्चालनमा सम्पन्न बैठकमा संस्थाको साङ्गठनिक प्रतिवेदन महासचिवले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिलन रोकाले पेस गरेका थिए। बैठकमा हाल सञ्चालित तथा आगामी दिनमा अघि बढाइने विविध गतिविधिहरूबारे गहन छलफल भएको अध्यक्ष माबोले बताइन्। छलफलका क्रममा कुकुर तिहार मनाउने, १४ नोभेम्बरमा वेल्स्ली गार्डेनको उद्घाटन गर्ने, रसम्मर १० किलोमिटर दौड, बाढीपीडित राहत सहयोग, ‘चिनारी’ पत्रिका प्रकाशन, नेपाली भाषा तथा नृत्य प्रशिक्षण कक्षा र निर्वाचन समिति गठनजस्ता विषयहरू समेटिएका थिए।

यसैगरी, जीआरएनसीले आगामी शनिबार, ७ नोभेम्बरमा प्रिन्सेस गार्डेनमा ‘रिमेम्बरेन्स सर्भिस’ आयोजना गर्ने अन्तिम तयारी गरेको छ। उक्त विशेष कार्यक्रममा बेलायती सांसदहरू, नेपालको प्रतिनिधिसभाका सांसदहरू, रसम्मर बरो काउन्सिलका मेयर, उपमेयर, काउन्सिलरहरू, बेलायतका लागि नेपाली कार्यवाहक राजदूत, सैनिक सहचारी, कर्णेल बीजी, अल्डरसट ग्यारिजन कमाण्डर, जीएसएम, क्यूओजीएलआरका सीईओ, गोर्खा मेजर, आरएसएम तथा भीसी कुलबीर थापा मगर र गजे घलेका परिवारजनसहित स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
यसैबीच संस्थाको वार्षिक साधारणसभा (अधिवेशन) आगामी ५ डिसेम्बरमा एम्पायर हलको टप फ्लोरमा आयोजना हुने निर्णय भएको छ। त्यसअघि २८ नोभेम्बरमा संस्थाकै कार्यालयमा प्रि–एजीएम डाकिएको छ। आगामी निर्वाचन सम्पन्न गर्नका लागि संस्थाका सल्लाहकार क्याप्टेन राजेन्द्र गुरुङलाई प्रमुख आयुक्त र सल्लाहकार प्रमिला लाबुङ राईलाई सचिवको जिम्मेवारी सुम्पिँदै निर्वाचन समिति बनाइएको छ। ट्रस्टी, पूर्वअध्यक्ष, सल्लाहकार तथा पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको उक्त बैठकको समापन गर्दै अध्यक्ष माबोले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरिन्।