लन्डन । क्याप्टेन रिटायर्ड पूर्ण लिम्बूको चलचित्र 'नाम्लो' बेलायतमा प्रिमियर शो गरिएको छ ।
चलचित्रबाट उठेको रकम संखुवासभा खाम्लिङ गाउँको खानीपानि तथा आधारभूत आवश्यकतालाई सहयोग गर्न उद्देश्यसहित अक्सफोर्ड टाउनस्थित कम्युनिटी हलमा २७ जुलाईमा प्रदर्शन गरिएको हो । चलचित्र प्रिमियर शो सगरमाथा गोर्खा/नेपाली समुदाय आसफोर्ड, केन्टका उपाध्यक्ष उत्तर मगरको समन्वयमा भएको हो ।
कार्यक्रममा चर्चित अभिनेत्री सिर्जना सुब्बा, पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बूलगायत ठूला संख्यामा नेपाली समुदायका दर्शकहरूको उपस्थिति थियो ।
'नाम्लो' चलचित्रको कथावस्तुले नेपालको दुर्गम गाउँमा बसोबास गर्ने व्यक्तिहरूको कठोर यथार्थलाई उजागर गर् छ। दैनिक संघर्ष र जीवनयापनका चुनौतीहरूलाई चलचित्रले अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गरेको छ, जसले दु:ख, पीडा र सहनशीलताको गहिरो चित्रण गरेको निर्माण पक्षले जनाएको छ ।
कार्यक्रम महासचिव रामप्रसाद लिम्बूले स्वास्थ्य तथा सुरक्षा जानकारी दिएका थिए । प्रमुख उपाध्यक्ष चिरन राईले स्वागत मन्तव्य दिए भने संयोजक उपाध्यक्ष उत्तर मगरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
सगरमाथा गोर्खा/नेपाली समुदाय आसफोर्ड, केन्टका अध्यक्ष मोहन लिम्बूले निर्माता क्याप्टेन लिम्बूलाई खादा अर्पण गर्दै चलचित्र र सामाजिक सेवाको लागि धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद लिम्बूले गरेका थिए भने साउन्ड सिस्टम प्रायोजन कार्यकारी सदस्य गंगराज राईले रेका थिए ।
चलचित्र शोपछि छोटो संवाद तथा समीक्षा सत्र आयोजना गरिएको थियो । जहाँ दर्शकहरूले चलचित्रको वास्तविक प्रस्तुति र भावनात्मक गहिराइको अत्यधिक प्रशंसा गरे ।
अन्त्यमा, अध्यक्ष मोहन लिम्बूले समापन मन्तव्य दिँदै सबै सहयोगी तथा सहभागीलाई कार्यक्रम सफल बनाएकोमा धन्यवाद ज्ञापन गरे । उनले आउँदो अगस्ट ३ आइतबार पनि सोही हलमा बेलुकी ६ बजेदेखि प्रदर्शन गरिने जानकारी दिएका छन् ।
हेमन तामाङले निर्देशन गरेको नाम्लो चलचित्र मदनबहादुर राई, लेखबहादुर तामाङले निर्माण गरेका हुन् । चलचित्रमा पूर्ण लिम्बु, शान्ति पाख्रिन गुरुङ, मदनबहादुर राई,स्मृति गुरुङ, सुवास तामाङ, दिनेश कोइराला, प्रेम सञ्जय लिम्बु, होमनारायण सापकोटा, बिमला राई, रमेश कटवाल, उदय कुरुम्बाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।