लन्डन । नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा गुरुङ चलचित्रका नायक तथा निर्देशक प्रितम गुरुङले 'बेस्ट डाइरेक्टर'अवार्ड जितेका छन् । प्रितमले यो अवार्ड हालै रिलिज भएको आफ्नो ५० औं फिल्म 'मुख्या'बाट जितेका हुन् ।
शनिबार १९ जुलाईमा नेपाल स्कटल्यान्ड एसोसिएसनद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेले निर्देशक गुरुङलाई अवार्ड प्रदान गरे । कार्यक्रममा 'मुख्या'फिल्मका साथै सर्ट मुभी, एन्जिला प्रदर्शन गरिएको थियो ।
नेपालबाट विशेष रूपमा आमन्त्रित आदिवासी चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको फेस्टिभलमा बेलायतस्थित नेपाली समुदायको पनि उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रम नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलको अध्यक्षतामा भएको हो ।

प्रितम निफमा सहभागी हुन र आफ्नो फिल्म 'मुख्या'को प्रमोसनका लागि यहाँ आएका हुन् । उनको चलचित्र अल्डरसटमा ११ जुलाईमा रेड कार्पेट शो भएको थियो । यस्तै चलचित्र मुख्या १३ जुलाईमा रिडिङ प्रदर्शन गरिएको थियो । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल्ममा टिकाराम घले, बिस्नु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ ।
चलचित्र प्रदर्शनको संयोजन समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङले गर्दै आएका छन् । प्रितम चलचित्र प्रदर्शनका लागि ३ जुलाई राति बेलायत आएका हुन् ।
