लन्डन । बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोक’ र यियर अफ दी बर्ड’ नामक धार्मिक चलचित्र प्रदर्शनबाट ३ हजार ४६७ पाउन्ड च्यारिटी संकलन भएको छ ।
गत १७ जुलाई बिहीबार बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको हाउजिङ प्रोजेक्टलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले अल्डरसटस्थित एम्पायर हलमा दुवै चलचित्र प्रदर्शन गरिएको हो ।
गत एक वर्षदेखि बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाको प्रमुख लामाको रूपमा कार्यरत खेन्पो सेनाङ ग्याम्जोद्वारा निर्देशित दुवै छोटो चलचित्र बौद्ध धर्म गुरुहरूको जीवन कथामा आधारित छ । चलचित्र छोटो तर आत्मस्पर्षी र ज्ञानवर्धक रहेको दर्शकहरू बताउँछन् । सानो उमेरदेखि बौद्ध गुम्बामा रहेर विभिन्न चरण पार गर्दै कसरी सुपर मोंक बन्छ भन्ने विषय कथामा समावेश छ ।
साथसाथै, उक्त दुवै चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिई विभिन्न पुरस्कार समेत जितिसकेको बताइएको छ । उक्त दुवै चलचित्रले धर्म गुरुहरूको जीवनीलाई स्पष्ट रूपमा प्रस्तुत गरिएको र अत्यन्त मनोरम दृश्यहरू समेटिएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दर्शकहरूको भनाइ थियो ।
तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको विशेष उपस्थितिमा प्रदर्शनको शुरुआतमा निर्देशक खेन्पो ग्याम्जोले उद्देश्य, चलचित्र निर्माण, कथावस्तुबारे जानकारी गराएका थिए ।
उक्त चलचित्र प्रदर्शनबाट संकलित रकम बीसीसी युके लन्डन ब्रान्चले आइतबार २० जुलाईका दिन हालै खरिद गरेको भवनमा आयोजना गर्न लागिएको झिन्सेक पूजाको क्रममा ब्रान्चलाई हस्तान्तरण गरिने बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले जानकारी दिएका छन् ।

स्मरण रहोस्, बीसीसी युकेको लन्डन ब्रान्चले हालै करिब ८ लाख पाउन्डको लागतमा भवन खरिद गरेको छ । उक्त भवनलाई बौद्ध गुम्बामा परिणत गर्न लागिएको छ ।
बीसीसी यूकेका अध्यक्ष आङदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, बीसीसी यूके चीफ सल्लाहकार मेजर खुशीमान गुरुङ, लन्डन ब्रान्चका चीफ सल्लाहकार लेप्टेन नारायण गुरुङ बिई , सल्लाहकारहरू, ट्रष्टीज मेम्बर्सहरु, बीसीसी यूकेका पदाधिकारीहरू, आमा समूहका सबै पदाधिकारीहरू, आमाहरू, भक्तजन, शुभचिन्तकलगायत दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त चलचित्रको औपचारिक कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभीओले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।
पूर्ण गुरुङ